News Griha :: न्यूजगृह
इलाम २: कांग्रेसले उम्मेदवार टुंग्याउन बाँकी, माओवादीले आज निर्णय गर्दै

इलाम— प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनले चुनावी माहोल तातेको छ। 

उम्मेदवार टुङ्ग्याएका दल चुनावी अभियानमा घर दैलोमा जुटेका छन् भने उम्मेदवार टुङ्ग्याउन बाँकी दलहरू जनतासमक्ष जान सकेका छैनन्। उनीहरू उम्मेदवार टुङ्ग्याउने दिनको प्रतीक्षामा छन्।  

अहिलेसम्म इलाम २ का लागि नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, पहिचान पक्षधरका तर्फका एक/एक उम्मेदवार टुङ्गिएका छन्। 

नेकपा माओवादीले आज टुङ्ग्याउने, कांग्रेसको २० गते भित्रमा

सत्ता सञ्चालनका लागि केन्द्रमा नयाँ समीकरण बनेपछि उम्मेदवारी दिने/नदिने मझधारमा रहेको नेकपा माओवादी केन्द्रले एमालेले आफ्नो उम्मेदवार घोषणा गरेको केहिदिन पछिमात्र चुनावमा जाने निर्णय गरेको थियो। 

केन्द्रमा गठबन्धनमा रहेका दलसँग मिलेर जाने सोच बनाएको माओवादीले गठबन्धनका दलले आआफ्ना उम्मेदवार उठाएपछि आफू पनि चुनावमा होमिने निर्णय गरेको थियो। 

केन्द्रको निर्णयपछि नेकपा माओवादी केन्द्र इलामले इलामबाट चार जनाको नाम सिफारिस गरेको छ। माओवादीले पार्टी केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमण तथा प्रदेश कमिटी सदस्यत्रय उर्मिला तामाङ, अनिल बराइली र ओम गुरुङको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ। 

यी नामबाट सर्वसम्मत व्यक्तिलाई छानेर उम्मेदवार घोषणा गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्। सोही निर्देशन बमोजिम आज प्रदेश कमिटीको बैठकले एक जनाको नाम सिफारिस गर्नेछ। यो सिफारिसमा पर्ने बलियो उम्मेदवार रमण हुन्। उनी प्रदेश सभा सदस्य भइसकेका व्यक्ति हुन भने नेकपा माओवादी केन्द्र इलामको इन्चार्ज हुन्। उनले इलामे जनताले आफू र आफ्नो पार्टीको एजेण्डालाई राम्ररी बुझेकाले यो पटकको निर्वाचनले आफ्नो पार्टी पक्षमा सकारात्मक निर्णय दिने बताएका छन्। 

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पनि उम्मेदवारको नाम टुङ्गिएको छैन। क्षेत्रीय समिति, जिल्ला समिति हुँदै प्रदेश समितिले सात जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ। 

केन्द्रमा पठाएका नाममध्ये दुई जना भेषराज आचार्य र डम्बर खड्का को चयन हुने भन्ने यकिन हुन बाँकी छ। यही सूचीमा पूर्वमन्त्री केशव थापा पनि छन्। उम्मेदवारका आकाङ्क्षीले पार्टीले उपर्युक्त उम्मेदवार उठाए यसपालि इलाम २ मा कांग्रेसले जित्ने दावी गर्दै आएका छन्। 

जिल्ला, प्रदेशबाट सिफारिस भएर आएका उम्मेदवारले काठमाडौंमा आएर सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका छन्। ‘पार्टीले उपयुक्त उम्मेदवार उठाउँछ। यसपालि हामीले नै जित्ने हो। हामीबीच छलफल पनि भइरहेको छ। अहिले चुनावको अभियान नै भनेर नहिँडे पनि हामीले चुनाव लक्षित र त्यसअघि पछि पनि जनतासँग गएर छलफल गरिरहेका छौँ,’ कांग्रेस इलामका सभापतिसमेत रहेका उम्मेदवारमा सिफारिस डम्बर खड्काले भने, ‘यसपटक इलाममा कांग्रेसको विकल्प छैन। गठबन्धनका दल मिलेर आए वा एक्लाएक्लै आए जसरी आएपनि जित्ने कांग्रेसले हो।’

सबैलाई मिलाउन र मिलेर अघि बढ्न पार्टीपङ्क्ति जुटेकाले आगामी २० गतेभित्रमा उम्मेदवार घोषणा हुने खड्काले बताए। 

एमालेको आक्रामक प्रचार 

इलाम २ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको निधन भएपछि हुने उपनिर्वाचनमा एमालेले नेम्वाङकै छोरा सुहाङलाई उम्मेदवार बनाएको छ। उनी अहिले इलाममा चुनावी अभियान अन्तर्गत घरदैलोमा व्यस्त भएका छन्। 

इलाम क्षेत्र नम्बर २ मा रहेका नगरमा अहिले नगर कमिटीको बैठक जारी छ। आज देउमाइ नगरपालिकाको बैठक छ। यो बैठकमा सहभागी हुँदै सुहाङसहितको एमाले टोली घर दैलो अभियानमा जुट्ने छ। 

जिल्ला कमिटी तथा नगर कमिटीले प्रचारलाई तीव्र पार्ने,  जित आफ्नो पक्षमा निकाल्ने गरी गृहकार्य जारी राख्ने निर्णय गर्दै अघि बढेका छन्। 

एमाले जिल्ला सचिव उमेश गुरुङका अनुसार यो पटकको माहौल एमालेकै पक्षमा देखिएको छ। उनले भने, ‘हामीले चुनावी प्रचार अभियान अन्तर्गत घरदैलोको काम थालेका छौँ। यसपालि फरक माहौल देखिएको छ। हामी घर दैलोमा आउने भन्ने सुनेपछि सुहाङलाई हेर्नकै लागि जनता लामबद्ध भएर उभिएको पाइयो। सुरुवाती दिनमै उत्साह भरिएको छ।’

राप्रपा पनि चुनावी अभियानमा जुटेको छ। राप्रपाले युवा नेता लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएको छ। इलाममा उपनिर्वाचन हुने भयो भन्ने पहिचान गरेर घरदैलो थालेको राप्रपाले यसपालि सकारात्मक महौल बनाएको दावी गर्दै आएको छ। 

राप्रपाका स्थानीय नेता सूर्य रिजाल विगतको तुलनामा इलाममा सकारात्क वातावरण सिर्जना भएको बताउँछन्। उनले पहिलाको भन्दा राम्रो माहौल बनेकाले उत्साहका साथ घरदैलोमा जुट्दै गरेको बताए। राप्रपाले इलाममा चैत २२ गते पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष रवीन्द्र मिश्रसहितका शीर्ष नेताको उपस्थितिमा आमसभाको आयोजना गरेको छ।

इलाम बजारमा हुने आमसभाले राप्रपाको पक्षमा नयाँ जनाधार सिर्जना गर्ने अपेक्षा राप्रपा इलामका नेताहरूको छ। 

त्यस्तै नेकपा एकीकृत समाजवादीले जीतबहादुर राईलाई उम्मेदवार बनाउने भएको छ। जिल्लामा पार्टीको जनमत बुझ्ने गरी बेग्लै उम्मेदवार उठाउने एकीकृत समाजवादीले जनाएको छ।

रास्वपाको उम्मेदवार घोषणा आज

रास्वपाले आज उम्मेदवार घोषणा गर्दैछ। रास्वपाबाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै भइसकेको छ। 

पूर्वघोषणाअनुसार आज दिउँसो १ बजे इलाम बजारको लाँकुरी चौतारा बजारबाट लिम्बूलाई उम्मेदवार घोषणा गर्नेछ

उम्मेदवार घोषणा गर्न र इलाममा आयोजित सभालाई सम्बोधन गर्न उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछाने, उपसभापति डा स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी इलाम पुगिसकेका छन्। 

इलाम २ का लागि पहिचान पक्षधरले बेग्लै उम्मेदवार उठाएका छन्। पहिचान पक्षधर समूहको तर्फबाट डकेन्द्र थेगिम उम्मेदवार छन्। उनले पनि चुनावी अभियानलाई तीव्र पारेका छन्। अहिलेसम्म पहिचान पक्षधरका नेतासँगको भेटघाटमा व्यस्त थेगिम आफ्नो पक्षमा जनमत बढाउने गृहकार्यमा जुटिरहेका छन्।

इलाम २ बाट निर्वाचित सुवास नेम्वाङको निधन भएपछि त्यस क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। निर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०९:१७
Weather Update