
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि आज उम्मेदवार घोषणा गर्दैछ।
रास्वपाबाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै भइसकेको छ।
पूर्व घोषणाअनुसार शनिबार दिउँसो १ बजे इलाम नगरपालिका–७ लाँकुरी चौतारा बजारमा रास्वपाले लिम्बूलाई उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न लागेको हो।
सो कार्यक्रममा सभापति रवि लामिछाने र उपसभापति डा स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीसमेत इलाम पुगिसकेका छन्।
उपनिर्वाचनका लागि हालसम्म नेकपा एमालेले उम्मेदवारको नाम अघि सारेको छ। भदौ २६ मा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त पदमा नेम्बाङकै कान्छा छोरा सुहाङलाई बाबुको स्थानमा एमालेले उम्मेदवार रोजेको हो।
आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ।