News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
समानुपातिक सांसद सापकोटालाई जनमत पार्टीले पदबाट हटाउन नमिल्ने, के हो विवाद?

काठमाडौं— प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जनमत पार्टीकी समानुपातिक सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाउन गरेको पत्राचार त्रुटीपूर्ण रहेको ठहर गरेका छन्। 

सीके राउत नेतृत्वको जनमत पार्टीले सांसद सापकोटालाई स्पष्टीकरण सोधेर कारबाही स्वरूप पार्टीबाट निष्कासन गरेको व्यहोरा उल्लेख गर्दै गत फागुन २७ गते संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो। तर सभामुख घिमिरेले जनमत पार्टीले पठाएको पत्रहरू अध्ययन गर्दा सापकोटाले दल त्याग गरेको नदेखिएको र निजलाई दलबाट निष्कासन गरेको नपाइएको भन्दै सांसद पद कायम गरेका हुन्। 

संसद सचिवालयले जनमत पार्टीलाई पठाएको पत्रमा ‘कारबाही कानुन एवं प्रक्रियागत रूपमा प्रथम दृष्टिमै त्रुटीपूर्ण देखिन आएको’ उल्लेख छ। 

Prabhu Bank

पत्रमा भनिएको छ, ‘त्रुटीपूर्ण कार्यलाई अनदेखा गरि निजमाथि गरेको भनिएको कारबाही अगाडि बढाउन सक्ने अवस्था भएन।’

के हो विवाद?

स्वकीय सचिव राख्ने विषयमा सांसद सापकोटाको पार्टीसँग विवाद भएको थियो। स्वकीय सचिव नियुक्त गर्ने सांसदको अधिकार भएपनि जनमत पार्टीले आफूले भनेको व्यक्ति राख्नुपर्ने भन्दै सापकोटालाई दबाब दिएको थियो। दबाब अस्वीकार गरेकी सापकोटालाई जनमत पार्टीले सांसद पदबाटै हटाउन सभामुखलाई पत्र लेखेको थियो। 

राजनीतिक दल सम्बन्धी ऐनमा के छ ?

राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ ले कुनै पनि सांसदले दलको सदस्यबाट राजीनामा दिएमा, अर्को दलको सदस्यता लिएमा वा आफैं संलग्न भई अर्को दल गठन गरेमा दल त्याग गरेको मानिने ब्यवस्था गरेको छ। यी कारण विद्यमान भएमा सांसदलाई दलले निष्कासन गर्न सक्ने छ। यसरी निष्कासन गर्नुअघि सांसदलाई सफाइको मौका दिनुपर्छ।

जाँचबुझका लागि समिति गठन गर्नुपर्छ। सफाइ सन्तोषजनक नभएमा केन्द्रीय समितिको निर्णय गरेर विधानको व्यवस्था बमोजिम आधार र कारण खुलाई कारबाही गर्नुपर्छ। 

सभामुख घिमिरेले जनमत पार्टीलाई राजनीतिक दल सम्बन्धी ऐनमा भएको यही प्रक्रिया पूरा नभएको उल्लेख गर्दै निष्कासन त्रुटीपूर्ण ठहर गरेका हुन्। 

सभामुख घिमिरेले स्विट्जरल्याण्ड जानुअघि चैत १२ गते नै जनमत पार्टीलाई संसद् सचिवालयमार्फत पत्र पठाएका थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २०:०१
Weather Update