News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मानसिक समस्याबाट पीडित थिइन् डा प्रतिभा, घर बिदामा रहेका बेला अकल्पनीय मृत्यु!

काठमाडौं— जिल्ला अस्पताल धादिङकी कन्सल्टेन्ट जनरल सर्जन डा प्रतिभा धौभडेल बिहीबार बिहान ८ बजेतिर आफ्नै घरको शौचालयमा झुण्डिएको अवस्थामा फेला परिन्। 

प्रतिभालाई धरैपटक फोन गर्दा पनि नउठेपछि उनका श्रीमान् डा कबिर राजभण्डारी कोठामा छिरेका थिए। कोठामा छिर्दा पनि नभेटिएपछि शौचालयमा हेर्दा प्रतिभा घाँटीमा सलले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। 

कबिरले तत्कालै उनलाई छाउनी अस्पताल पुर्‍याए। तर बचाउन भने सकेनन्। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी  नवराज अधिकारीले जानकारी दिए। 

Prabhu Bank

जिल्ला अस्पताल धादिङ स्रोतका अनुसार डा प्रतिभा गत आइतबारदेखि नै अस्पतालमा हाजिर भएकी थिइनन्। अस्पताल स्रोतका अनुसार उनी १ हप्ताको बिदा स्वीकृत गराएर काठमाडौंस्थित घर आएकी थिइन्।  

अस्पतालका १ जना कर्मचारीका अनुसार यसअघि पनि उनी बेला बेला उपचारका लागि भन्दै काठमाडौं आउने गरेकी थिइन्। उनले नियमित औषधि समेत सेवन गर्ने गरेकी थिइन्। 

प्रहरी अनुसन्धानबाट खुलेअनुसार डा प्रतिभाले मानसिक रोगसँग सम्बन्धित औषधि सेवन गर्ने गरेकी थिइन्। 

‘उहाँ डिप्रेसनको समस्याबाट पीडित रहेको भन्ने जानकारी मिलेको छ। त्यसको नियमित औषधि समेत सेवन गर्ने गरेको पनि पाइयो,’ प्रहरी स्रोतले न्यूजगृहसँग भन्यो। 

३४ वर्षीया प्रतिभाले करिब ४–५ वर्ष अगाडि डा कबिरसँग विवाह गरेकी थिइन्। बिहे गरेको लामो समयसम्म पनि बच्चा नभएको भन्ने चिन्ताले पनि उनी पीडित रहेको उनीसँग काम गरेका १ जना सहकर्मीले बताए। 

पारिवारिक रुपमा कुनै समस्या भएको जस्तो तथ्यहरु भने फेला नपरेको प्रहरी स्रोतको भनाइ छ। ‘पारिवारिक रुपमा त्यस्तो कुनै दबाब, तनाव वा हिंसा हुने गरेको भन्ने तथ्य अहिलेसम्म भेटिएको छैन,’ प्रहरी स्रोतले भन्यो, ‘यद्यपि त्यस विषयमा पनि अनुसन्धान भइरहेको छ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट डा प्रतिभाले आत्महत्या गरेको देखिएको छ। यद्यपि घटनाका विषयमा थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी अधिकारीले जानकारी दिए।

प्रतिभाले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस गरेकी थिइन्। पछि उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालबाट जनरल सर्जरीमा एमडी गरेकी थिइन्। 

भारतको गंगा अस्पतालबाट माइक्रो सर्जरीसम्बन्धी तालिम लिएकी उनले भारतको प्रतिष्ठित डा पारसमणि स्वर्ण पदक समेत पाएकी थिइन्। 

धादिङ अस्पतालले डा प्रतिभाको निधनबाट १ जना दक्ष चिकित्सक गुमाएको भन्दै दु:ख व्यक्त गरेको छ। अस्पताल प्रशासनले शोक सन्देश जारी गर्दै डा प्रतिभा आत्मीय सहकर्मी तथा दक्ष चिकित्सक रहेको जनाएको छ। डा प्रतिभा २०८० असार २५ गतेदेखि धादिङ अस्पतालमा कार्यरत थिइन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १४:५३
Weather Update