News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
अछाममा के गर्दैछन् भीम रावल ?

काठमाडौं— नेकपा एमाले‍का नेता भीम रावल यतिबेला गृहजिल्ला अछाममा छन्। उनी व्यक्तिगत तथा पारिवारिक काम लिएर अछाम बसेको लामै समय भयो। नेपालको राजनीतिमा सक्रिय पात्र रावल पछिल्लो समय भने ‘हराएका’ छन्। उनी एमालेका केन्द्रीयस्तरका कार्यक्रममा कमै देखिन्छन्।

झण्डै दशैंपछि रावलको काठमाडौं बसाइ एकदमै कम छ। खासमा उनी भूकम्पले क्षति पुर्‍याएको आफ्नो अछामको घर पुनर्निर्माणका लागि धेरै समय घरमै बिताइरहेका छन्। अहिले घर निर्माणको काम सकिएको छ। अझै केही दिन उनी अछाम नै बसेर मात्र काठमाडौं फर्कने योजनामा छन्। 

राष्ट्रिय महत्त्वका विषयलाई उठाउने, प्रष्ट वक्ताका रुपमा चिनिने रावल सार्वजनिक समारोहमा सहभागी भएर धारणा सार्वजनिक नगरेको निक्कै समय भयो। उनी सञ्चारमाध्यममा पनि त्यति छाएका छैनन्, जति विगतमा उनको उपस्थिति हुन्थ्यो। 

Prabhu Bank

रावल के गर्दैछन् भन्ने खोजी जारी रहँदा उनको सचिवालयले भने अहिले पनि पार्टीगत काममा जिल्लामा सक्रिय रहेको बताउँछ। यतिबेला प्रदेश र जिल्लास्तरमा हुने कार्यक्रममा रावलको सहभागिता बढेको छ। जिल्लामा हुने सानाठूला सबै कार्यक्रममा आएको निम्ता अनुसार उनी सहभागी हुने प्रयासमा हुन्छन्। पार्टीसँगै जिल्लामा हुने गरेका शैक्षिक, धार्मिक कार्यक्रममा उनको उपस्थिति हुने गरेको छ। 

नेतृत्वसँग छैन सम्पर्क, शुभचिन्तक भन्छन्–पार्टी छोड्नुहुँदैन

रावलको फरक मतलाई सुन्ने भन्दै पार्टी अध्यक्ष केपी ओलीले सुरुवातमा केही पहल गरे पनि अहिले त्यो शून्य जस्तै छ। अर्थात आफैँसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावललाई ओलीले आफू नजिक हेर्न चाहेको देखिँदैन्। त्यसैले त उनले झापामा पुगेर कार्यकर्तालाई ‘भनेको नमाने भीम रावलको हालत बनाइदिने’ भन्दै चेतावनी नै दिए।

ओलीको गृहजिल्ला झापामा एमाले जिल्ला अधिवेशन अघि नै पदाधिकारीको नाम घोषणा भएपछि विभाजित बनेको टिमलाई एकीकृत गर्न सम्झाउनुको साटो ओलीले विरोध गर्नेलाई एक्ल्याउने आशयसिहतको चेतावनी दिए। ओलीको यही चेतावनीपछि भीम रावलको खोजी सुरु हुन थालेको छ। 

रावल आफैँ पनि एमालेको नेतृत्वलाई रिझाउन लागेका देखिँदैनन्। उनले ओलीलाई भेट्न खोजेका छैनन्। त्यसमा पनि ओलीले कार्यकर्तालाई भीम रावलको उदाहरण दिँदै दिएको चेतावनीलाई पनि गम्ने छन् होला। 

भौतिक रुपले प्रदेशमा केन्द्रित हुँदा केन्द्रमा भएको राजनीतिक उतारचढावले उनलाई धेरै छोएको छैन। यद्यपि फोन सम्वाद भने हटेको छैन। 

एमालेमा भूमिकाविहीन भएपछि उनका शुभचिन्तकले भने रावलको खोजी गर्ने गरेका छन्। धेरैले रावललाई पार्टी छाड्न नहुने सुझाव दिने गरेका छन्। ‘पार्टीभित्र हुने अन्तरसंघर्षलाई संवादबाट हल गर्नुपर्छ भन्ने उहाँको सोच थियो। त्यही सोचबाट अघि बढ्नुहोस् भन्ने हामीले सुझाएका छौँ। अध्यक्षको विरोध गरेकै आधारमा पार्टीबाट बाहिरिनुपर्ने अवस्था नआओस् भन्ने हाम्रो माग हो। नेतृत्वले फरक दृष्टिले हेरे पनि हामीले उहाँलाई सम्भावना भएको नेताका रुपमा हेरेका छौँ,’ एमालेका एक नेताले भने। 

एमालेको पाको पुस्ताले उनलाई पार्टीभित्रै रहेर संघर्ष गर्न सुझाए पनि युवाहरूले त्यत्तिकै बस्न नहुने भन्दै उक्साएको पाइन्छ। युवाहरूले सुदूरपश्चिमलाई नेतृत्व गर्ने नेताका रुपमा स्थापित गर्ने भन्दै रावललाई अघि बढ्न हौस्याउनेको संख्या पनि बढ्दो छ। तर रावलले परिस्थितिलाई मूल्यांकल गर्न दीर्घकाललाई प्रभाव पार्ने गरी आफ्नो कदम चाल्ने अडान लिइरहेका छन्। 

सुदूरपश्चिम प्रदेशका एक नेताले भने, ‘गाउँ कमिटी, जिल्ला कमिटी हुँदै प्रदेशले उहाँको व्यग्र प्रतीक्षा गरेको छ। उहाँको अनुपस्थितिले पार्टीलाई नराम्रो असर गर्छ। यसतर्फ सबैले सोच्न जरुरी छ। उहाँलाई कुनै न कुनै जिम्मेवारी दिएर चलायमान बनाउनुपर्छ। उहाँ पार्टीका लागि लामो समयदेखि संघर्ष गरेको व्यक्ति हो। नेतृत्वप्रति प्रश्न गर्दैमा पार्टी हीत विपरीत हुँदैन्। यो कार्यकर्ता तहबाटै सोचेर जानुपर्ने देखिएको छ।’

ओली-रावलको पहिलो भेट जेलमा

भीम रावलले केपी शर्मा ओलीलाई पहिलोपटक जेलमा भेटेका हुन्। विभिन्न अन्तर्वार्ताका क्रममा रावलले आफू विद्यार्थी आन्दोलनका क्रममा जेल परेका बेला ओलीसँग भेट भएको बताएका छन्। 

रावल २०३३ सालमा जेल परेका थिए। सोही बेला जेलमा भएको भेट नै ओलीसँगको पहिलो भेट भनेका छन्। 

रावलसँगको तिक्तता बढेपछि पनि ओलीले कटाक्ष गर्दै जेलबाट निकालेर राजनीतिमा लगाएको उल्लेख गरेका छन्। २०७७ को पुसमा धनगढीमा आयोजित सभामा ओलीले भनेका थिए, ‘अछामको एउटा केटो, म जेल बस्या बेला बाटामा हिँड्दा हिँड्दै पुलिसले समातेर ल्याएछ। भेटाएर मैले राजनीतिकरण गर्‍या थिएँ। अहिले त कुराकानी सानातिना छैनन्। मान्छे भन्दा कुरा ठूला छन्। नानी भन्दा नाना ठूलो, मान्छे भन्दा कुरा ठूलो। नाम भन्नुपर्दैन, तपाईंले चिन्नुहुन्छ।’ यसरी जेलमा भेट भएका यी दुई नेताबीच पछि राम्रै सहकार्य भयो।

राजनीतिमा सक्रिय हुनुअघि कानुनसँग सम्बन्धित क्षेत्रमा काम गर्ने रावलले पार्टीको पहिलो जिम्मेवारी भने नेकपा एमालेका तर्फबाट कृषिमन्त्री बनेका झलनाथ खनालको स्वकीय सचिव बनेर सम्हालेका थिए। ०४७ सालमा रावलले कृषिमन्त्री खनालको स्वकीय सचिवको भूमिका निर्वाह गरेका थिए। 

त्यसपछि पार्टी राजनीतिमा सक्रिय बनेका उनी राज्यमन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म बने। जेलपछि रावल र ओलीबीच क्याविनेटमै भेट भयो। २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वमा बनेको सरकारमा ओली गृहमन्त्री बनेका थिए भने सोही मन्त्रिमण्डलमा रावल पर्यटन राज्यमन्त्री बनेका थिए। 

स्पष्ट वक्ता रावल आफ्नो कुरामा अडिग रहन्छन्। उनलाई शक्तिमा रहने सोच तीव्र रहेको उनका समकक्षी एमाले नेताहरू नै बताउँछन्। रावललाई सत्ता र पद नदिए विद्रोही बनेर उत्रने गरेको टिप्पणी एमाले नेताहरू नै गर्छन्। पद र सत्तामा पुग्न कडा मेहनत गर्ने नेताको रुपमा रावलले एमालेभित्र परिचय स्थापित गरेका छन्। 

लोकप्रिय मत ल्याएर एमालेको उपाध्यक्ष समेत बनेका भीम रावलले २०७८ मंसिरमा चितनवमा भएको १०औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिए। रावललाई उपाध्यक्ष नै बनाउने भन्दै ओलीले अध्यक्षको उम्मेदवारी फिर्ता लिन भने पनि रावलले नमानेपछि निर्वाचन नै भयो। र निर्वाचनमा रावल पराजित भए। त्यसपछि रावल एमालेमा भूमिकाविहीन छन्। 

एमालेमा भूमिकाविहीन बनेपछि रावलका विषयमा विभिन्न टिक्का टिप्पणी पनि हुने गरेको छ। त्यसो त रावलको विरोध गर्नेसँगै तारिफ गर्ने पनि उत्तिकै छन्। रावललाई एमालेका केही नेताले मात्र नचिनेको टिप्पणी उनी निकटकाले गर्छन्। 

पदका लागि हत्ते पनि गर्ने र काममा पनि उत्तिकै खरो उत्रने नेताका रुपमा समकक्षीले उनलाई चित्रण गर्छन्। एक नेताले भने, ‘भीम रावल पद र सत्तामा रहन मरिहत्ते गर्ने नेता नै हुन्। यो भन्दै गर्दा पदमा पुगेपछि दह्रो काम गर्ने नेता पनि हुन्। उनले स्वकीय सचिव हुँदा जति काम गरे, पार्टीको जिम्मेवार तहमा रहँदा पनि त्यति नै काम गर्ने मान्छे हुन्। योसँगै उनको नराम्रो पक्ष भनेको पद नपाए नेतृत्वको खोइरो खन्ने प्रवृत्ति हो।’

एमालेका ती नेता भन्छन्, ‘बिगतमा तपाईंहरूले हेर्नुभयो भने पनि थाहा हुन्छ। माधव नेपाल नेतृत्वको सरकार होस् वा केपी ओली नेतृत्वको सरकार, जुनमा उनी सहभागी भए त्यहाँ कहिल्यै नेतृत्वप्रति उनको अन्तरविरोध भएन। तर उनी सत्ताबाट बाहिरिने बित्तिकै आगो ओकल्ने व्यक्ति हुन नि। सत्ता बाहिर हुने बित्तिकै प्रत्येक कदममाथि उनको प्रश्न उठ्ने गरेको छ।’

रावल निकटकाले उनलाई गलत आश्वासन नदिने, गरेका प्रतिबद्धता पूरा गर्ने, प्रस्ट वक्ता, समयको पालना गर्ने, अनुशासित नेताका रुपमा चित्रण गर्ने गरेका छन्। रावलको सबैभन्दा राम्रो पक्ष भने अध्ययन गरेर मात्रै कुनै विषयमा आफ्नो टिप्पणी र धारणा राख्ने रहेको उनका निकटष्ठहरू बताउँछन्। 

दूरी बढ्ने कारण पद नै

एमालेभित्र कसलाई के जिम्मेवारी भन्ने बढी अरनखटन ओलीकै हुने गर्छ। ओलीको हटका अघी कसैको केही सीप नलाग्ने टिप्पणी हुने गर्छ। ओलीको खुलेर टिप्पणी र आलोचना गरे आफ्नो हालत के हुने भन्ने देखेका एमाले नेताहरूले औपचारिक रुपमा ओलीको कुनै विरोध नै गर्दैनन्। 

आफ्ना विरोधीलाई भित्तामै पुर्‍याउने ओलीका अभिव्यक्तिप्रति सबै एमाले नेता कार्यकर्ता जानकार छन्। ओलीलाई राम्ररी चिनेका नेता रावलले पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएपछि बनेको नेकपाको राजनीतिक यात्रामा सम्बन्ध बिगारेको उनी निकटकाले बताउँछन्। 

रावल नेकपाको सचिवालयमा अटाउन चाहन्थेँ। उनलाई स्थायी कमिटी सदस्य बनाइएको थियो। उनले सचिवालयमा आउनलाई निक्कै दौडधुप पनि गरे। ओलीले आफ्ना विश्वासपात्र विष्णु पौडेललाई महासचिव बनाएपछि रावलको सचिवालयमा पुग्ने सम्भावना हट्यो। त्यसपछि उनी ओलीका कदमको टिप्पणी गर्न थाले। 

आफ्ना कदममाथि टिप्पणी गर्न थालेपछि ओलीले पनि रावललाई पार्टी जिम्मेवारीबाट टाढा धकेले। यत्ति सम्मकि रावलको आफ्नो क्षेत्र मानिने सुदूरपश्चिम प्रदेशको अधिवेशन हुँदा उनलाई निम्तो आएन। रावलले निम्तो नआएको गुनासो पनि गरेका थिए। कार्यक्रमस्थलमा ओलीले सम्बोधन गर्दा त्यहाँका स्थानीय नेता कार्यकर्ताले भीम रावल खोइ भन्दै खोजी नै गरेका थिए। 

योसँगै बढेको रावल-ओलीको वकयुद्ध पार्टीको महाधिवेशनसम्म सतहमा रह्यो। महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल त्यसपछि पार्टीको जिम्मेवारीमा छैनन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ११:०१
Weather Update