News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
एसईई परीक्षा अनुगमनको नाउमा पटक-पटक परीक्षा केन्द्रमा नजान बोर्डको निर्देशन
जिल्लाभरको एउटै परीक्षा केन्द्र मनाङको चामे गाउँपालिकामा रहेको लोकिप्रिय माध्यमिक विद्यालयमा दोस्रो दिन आज एसईईको परीक्षा दिँदै विद्यार्थी। उक्त परीक्षा केन्द्रमा एसईई दिन तीन विद्यालयका ३९ जना विद्यार्थी सहभागी छन् । तस्बिरः नवीन लामिछाने/रासस  

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निरीक्षणको नाममा माध्यामिक शिक्षा परीक्षा (एसईई) हलमा धेरै सङ्ख्यामा मानिसहरू नजान निर्देशन दिएको छ।  

बिहीबारदेखि सुरु भएको यो वर्षको एसईई परीक्षामा निरीक्षणको नाममा आधिकारिक व्यक्ति भन्दा अन्य पटक–पटक धेरै सङ्ख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा गएकाले परीक्षार्थीलाई त्यसले लेखन कार्यमा असहज भएको गुनासो आएकाले बोर्डले धेरै सङ्ख्यामा मानिसहरू नजान आग्रह गरेको हो।

Prabhu Bank

बिहीबार भएको अंग्रेजी विषयको परीक्षामा पटक पटक धेरै सङ्ख्यामा मानिसहरू अनुगमन र निरीक्षणको नाममा परीक्षा हल र केन्द्रमा जाँदा विद्यार्थीलाई लेख्न असहज भएको गुनासो आएको उल्लेख गर्दै बोर्डले परीक्षालाई व्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न तथा गर्ने व्यवस्था मिलाउन भनेको छ।

‘प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य अनुगमनकर्ता र पर्यवेक्षकहरू समूहगत रुपमा र धेरै सङ्ख्यामा पटक पटक परीक्षा अनुगमनमा जाने कार्य नगर्नु’ कायम मुकायम परीक्षा नियन्त्रक नन्दलाल पौडेलद्वारा जारी सूचनामा उल्लेख छ।  

बिहीबार बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु भएको थियो। चैत २७ गते सम्पन्न हुने परीक्षामा सहभागी हुन सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फारम भरेका थिए।

परीक्षाको दोस्रो दिन आज परीक्षार्थीले अनिवार्य नेपालीको परीक्षा दिएका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ११:५७
Weather Update