News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाममा जित्ने पात्र छानेर निर्वाचनमा होमिन प्रचण्डको निर्देशन

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले इलाम २ को निर्वाचनमा उपयुक्त उम्मेदवार छानेर निर्वाचनमा होमिन निर्देशन दिएका छन्। 

प्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई भेट्न पुगेको नेकपा माओवादी केन्द्र इलामका इन्चार्ज धीरेन्द्र शर्मासहितको टोलीसँग कुरा गर्दै प्रचण्डले जनभावना अनुसार उपयुक्त उम्मेदवार छनोट गरी निर्वाचनमा जुट्न निर्देशन दिए। 

प्रचण्डले इलाम पुराना नेताले छहारी दिएको जिल्ला भएकाले त्यस्तै छहारी हुने गरीको नेतृत्व विकास गर्न पनि सुझाएका छन्। 

Prabhu Bank

भेटबारे जानकारी दिँदै शर्माले भने, ‘इलामको निर्वाचन केन्द्रित छलफल भयो। हामीलाई अध्यक्ष ज्यूले इलाम पुराना नेताको छहारी रहेको जिल्ला भन्दै अब त्यो छहारी नेकपा माओवादी केन्द्रले दिने खालको नेतृत्व विकास गर्दै सोही अनुसारको उम्मेदवार छानेर चुनावमा जुट्न निर्देशन दिनुभएको छ।’

अब नेकपा माओवादीले भने प्रदेश तहकै बैठकबाट उम्मेदवार टुंग्याउने पनि शर्माले बताए। उनले भने, ‘अध्यक्षलाई भेट्न प्रदेश इन्चार्जसहित हामी गएका थियौँ। अध्यक्षले जनमत बुझेर उम्मेदवार टुंङ्ग्याउनु भन्नु भएको छ। अब भोलि छलफल गरेर सिफारिस चारमध्ये एक जनाको नाम टुंङ्ग्याउने छौँ।’

उम्मेदवार छनोट प्रकिया आफ्नो ठाउँमा भए पनि माओवादीले जिल्ला र निर्वाचन क्षेत्रमा आफ्नो काम जारी राखेको जिल्ला इन्चार्ज शर्माले बताए। उनले भने, ‘हामीले जनतासँग नजिक भएर गर्ने काम गरिरहेका छौँ। पार्टीका अभियान चलाएकै छौँ। वडा भेला पनि केही समय अघि सम्पन्न गरेका छौँ। जनतामा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भन्ने गुनासो छ। अब हामी अवस्था परिवर्तनका लागि जुट्ने छौँ।’

अहिलेसम्म अवस्था परिवर्तन किन हुन सकेन भन्ने प्रश्नमा शर्माले भने, ‘माओवादीकै आन्दोलनबाट नयाँ व्यवस्था कायम भयो। अर्थात व्यवस्था बदल्न माओवादीले निर्णायक भूमिका खेल्यो। राजनीतिमा राजनीतिसँगै नेतृत्वको पनि विकास हुनुपर्ने रहेछ। हाम्रो विचारले व्यवस्था बदलियो तर अवस्था बदल्ने ठाउँमा हामी पुग्न सकेनौँ। त्यो ठाउँमा अर्कै विचारले काम गर्‍यो। यो हामीले अहिले बुझ्यौँ। अब अबस्था परिवर्तन गर्ने गरी जुट्न हामी चुनावमा प्रतिस्पर्धा गर्नेछौँ। हाम्रो आवाज सही रुपमा जनतासँग पुर्‍याउन सक्दा नतिजा हाम्रै पक्षमा आउने छ।’

उनले विगतमा पनि आफूले समन्वयकारी भूमिका खेलेको भन्दै आफू पूर्ण आशावादी रहेको बताएका छन्। उनले भने, ‘हिजो नेकपा हुँदा पनि मैले इन्चार्जको भूमिकामा काम गरेँ। कांग्रेससँगको गठबन्धनमा पनि हामीले मिलेर काम गर्‍यौँ। अब पनि इलामको विकासका लागि मेरो भूमिका रहनेछ। अहिले काठमाडौं आउँदा धेरै विकासका एजेण्डासहित आएको छु। प्रधानमन्त्रीदेखि मन्त्रालयगत धेरै ठाउँमा मेरो भेटघाट भएको छ। पहुँचका आधारमा पनि हामीले केही गर्न सक्छौँ भन्ने लागेको छ।’

शर्माले यो पटकको निर्वाचनले पार्टीलाई समीक्षा गर्न भूमिका खेल्ने पनि बताएका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १०:३५
Weather Update