News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
स्थानीय सरकारले तिर्न बाँकी सडक बत्तीको बक्यौता ६ अर्ब, उठाउन ताकेता गर्दै प्राधिकरण
सांकेतिक तस्बिर

काठमाडौं— नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत भुक्तान गर्नुपर्ने ६ अर्ब रुपैयाँ तत्काल तिर्न आग्रह गरेको छ ।  

प्राधिकरणले आज एक सूचना जारी गर्दै प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित)को दफा २ को खण्ड (ङ १) बमोजिम गैरकानुनी रहेको प्रस्ट पारेको छ । 

Prabhu Bank

अनधिकृत तवरले स्थानीय तहहरुले विद्युत् सेवा उपभोग गरेमा सोही ऐनको दफा २३ बमोजिम विद्युत् लाइन काट्न सकिने चेतावनी सहित प्राधिकरणले सरोकारवाला निकायलाई बक्यौटा रकम तिर्न भनेको छ ।

‘देशभरका विभिन्न स्थानीय तहहरूले सडक बत्ती प्रयोग गरे बापत करिब ६ अर्बभन्दा बढीको विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरणलाई तिर्न/बुझाउन बाँकी रहेको छ । सो बारे सार्वजनिक सूचना र पत्राचारमार्फत् जानकारी गराइँदै आएको व्यहोरा अवगत नै छ । बक्यौता महसुल नतिर्ने र बिनामिटर जडान गरिएका सडक बत्ती नेपाल विद्युत् प्राधिकरणबाट हटाइने भएकाले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी रीतपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान गराउन आग्रह गरिन्छ ’ प्राधिकरणले भनेको छ।
 
प्राधिकरणले रीतपूर्वक सडक बत्तीको ग्राहक नबनेका, महसुल नतिर्ने तथा प्राधिकरणको स्वीकृति बिना सडक बत्ती बाल्ने स्थानीय तहको जुनसुकै बेला बत्ती काट्न सक्ने चेतावनी दिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०९:१८
Weather Update