News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ— विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’मा भुटानको आरटीएफसीले विजयी सुरुवात गरेको छ। 

गएराति भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गर्दै भुटानको आरटीएफसीले जित निकालेको हो। 

Prabhu Bank

भुटानी टोलीले मध्यान्तर अगाडि दुई गोल गरेर आफूलाई अग्रता दिलाएको थियोभने त्यसपछि पनि अर्को गोल थपेर विभागीय टोलीलाई पाखा लगाएको थियो । खेल सुरु भएको ३६औँ मिनेटमा किन्ले ग्यालसेन, ४०औँ मिनेटमा सिद्धार्थ गुरुङ र ६३ औँ मिनेटमा किन्जाङ तेन्जिङले गोल गरेका थिए । खेलाडी तेन्जिङ ‘प्लेयर अफ द म्याच’ घोषित भएर नगद ११ हजार प्राप्त गरेका छन् ।

त्यसअघि कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रतियोगिताको उद्घाटन गर्दै खेलका माध्यमबाट देशको गरिमा वृद्धि हुने भएकाले त्यसलाई आत्मसात् गर्दै खेलाडीहरु मैदानमा उत्रनुपर्ने बताएका थिए। 

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले खेलका माध्यमबाट सामाजिक सद्भाव कायम गर्न सहज हुने बताए। 

प्रतियोगितामा शहीद स्मारक ‘ए’ डिभिजन विजेता चर्च ब्वाईज, विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब , नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यूरोड कर्नर टिम (एनआरटी), मच्छिन्द्र फुटबल क्लब र साङ्ग्रिला मोरङ भिड्ने छन्। 

यस्तै भारतको कोलकाताबाट साउर्थन समिति फुटबल क्लब, सिक्किम ड्रागन फुटबल क्लब र भुटानको आरटिसी फुटबल क्लब उपाधिका निम्ति प्रतिस्पर्धा गर्न विराटनगर आएका छन्।

गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच  लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिता अन्तर्गत आज त्रिभुवन आर्मी क्लब र  (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०८:४३
Weather Update