News Griha :: न्यूजगृह
आज एसईईका परीक्षार्थीले अनिवार्य नेपालीको परीक्षा लेख्दै

काठमाडौं— माध्यमिक शिक्षा परीक्षा (एसईई) जारी छ। बिहीबारदेखि सुरु भएको एसईईको आज दोस्रो दिन हो। 

हिजो अनिवार्य अंग्रेजीको परीक्षामा सहभागी भएका विद्यार्थीले आज अनिवार्य नेपालीको परीक्षा दिँदैछन्। 

देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी परीक्षामा सहभागी छन्। 

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना परीक्षार्थीले परीक्षा फारम भरेका थिए। 

यो परीक्षामा परीक्षार्थीले सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्छ। एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनैपर्ने व्यवस्था छ।

३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ। विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०७:४५
Weather Update