News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
दिनभरका प्रमुख समाचार: ‘जहाज बेपत्ता’ देखि प्रधानमन्त्रीको ‘उथलपुथलवादी’ कार्यशैलीसम्म

चैतको १५ गते बिहीबार दिनभरी भएका गतिविधिहरूको शीर्ष पक्ष यहाँ प्रस्तुत गरिएको छ। औपचारिक रुपमा आयोजना गरिएका र आकस्मिक घटनाका खबर नै दिनभरी घडीको सुईसँग चक्कर मारिरहेका हुन्छन्।

बिहीबार बिहानै उडिरहेको जहाज गन्तव्यमा नपुगेको र सम्पर्कमा पनि नरहेको अपुष्ट समाचारले हल्लीखल्ली नै मच्चायो। पुष्टि गर्नेतिर मेहनत नगरी कतिपय सञ्चारमाध्यमले ‘जहाज बेपत्ता’ पार्नसमेत संकोच मानेनन्।

धनगढीबाट काठमाडौंका लागि उडेको ‘श्री एअरलाइन्सको जहाज आकाशमै बेपत्ता’ भनेर सञ्चारमाध्यमहरूले चर्का शीर्षक बजारमा बेच्दै गर्दा जहाजका यात्रीहरू भने लुम्बिनीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर पानी पिउँदै थिए। मौसम अनुकूल नभएकाले केहीबेर जहाजले उपत्यकाको आकाशमा फन्को लाएर त्यता मोडिएको जानकारी दिइएको छ। 

Prabhu Bank

यो समाचार प्रकाशमा आएपछि जसजसलाई तनाव र मार परेको थियो ती सबै यतिबेला स्वजनसँग आफ्ना गुम्फन पोखेर शान्त भइसकेका छन्। अपुष्ट समाचारले कोकोहोलो मच्चायो तर सत्य अर्कै निस्कियो।

यो बिहीबार बिहीबारको चर्चित समाचार थियो।

नेपाली क्रिकेट टोलीलाई भारतमा प्रतिष्पर्धा गर्न बिदाइका लागि पुगेका खेलकुद मन्त्रीले सरकारी लापरवाहीले गर्दा उचित समयमा पुरस्कार दिन नसकिएको निराशाजनक खबर सुनाए पनि खेलाडी भारततिर उडे। उनीहरु गन्तव्यमा पुगिसकेका छन्। प्रोत्साहन दिन गएका मन्त्रीको निराशावादी कुराले तन्दुरुस्त र बलिष्ठ खेलाडी हतोत्साहित हुने कुरै थिएन। नेताका आश्वासन र विस्मयकारी वचन सुन्दासुन्दा आदत परिसकेका खेलाडी नयाँ मन्त्रीको अभिव्यक्तिबाट हतोत्साहित हुने कुरै थिएन, भएनन् पनि।

बिहीबारै प्रधानमन्त्री पुष्पकमल दाहालले भने गठबन्धन मित्रहरूलाई झसङ्ग पार्ने किसिमको अभिव्यक्ति दिएका छन्। ‘काम गर्न नसके मैले अर्को उथलपुथल गर्न बेर लाउँदिन’ भनेर उनले आफूलाई कुनै किसिमको अवरोध नलगाओ है भनेर सत्ता सहयात्रीलाई चेतावनी पनि दिएका छन्।

थप स्पष्ट पार्दै प्रधानमन्त्रीले अझै अगाडि बढ्न सकिन्छ भन्ने विश्वासले नै आफू प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको बताए। उनले विश्लेषक, चिन्तक र विवेचकहरूलाई मन्थनको मसला पस्किदिएका छन्। ‘उथलपुथलवादी’ कार्यशैलीका सूत्रधार प्रधानमन्त्री दाहालले वर्तमान सत्ता गठबन्धनप्रति पूर्ण भरोसा छैन भन्ने कुराको छनक पनि दिन थालेको बुझ्न सकिन्छ। विपक्षी दलका नेता शेरबहादुर देउवासँग सरकारी निवासमा भेटवार्ता गरिसकेर दिउँसो यस्तो अभिव्यक्ति दिनुमा प्रधानमन्त्री भविष्यका लागि कुनै संकेत दिन चाहिरहेका छन् भनेर बुझ्न कुनै आइतबार चाहिँदैन। 

बिहीबारैबाट सुरु भएको माध्यमिक तहको अन्तिम परीक्षा एसईईमा सरिक भएका ५ लाख ४ हजार ४१४ विद्यार्थी भने प्रधानमन्त्री दाहालले नेतृत्व गरिरहेको चञ्चल राजनीति र अवतरण गरिसकेको जहाज बेपत्ता बनाउने सञ्चारमाध्यमसँग धेरै टाढा छन्। उनीहरूको एकमात्र एजेन्डा छ पहिला एसईईमा उच्च अंक ल्याउने अनि भविष्यमा उड्ने गन्तव्यका बारेमा परामर्श थाल्ने।

प्रहरीको बहादुरी

नेपाल प्रहरीले राजस्वमा एक वर्षमा साढे ६ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको दाबी गरेको छ। अवैध मालसामान बरामद, अदालती फैसला कार्यान्वयन र ट्राफिक जरिवानाबाट यति रकम जुटाएको भनेर प्रहरीले घोषणा गरेको छ।

‘जहाज हराएको, एसईई सुरु भएको र प्रधानमन्त्रीले राजनीतिक तरंग उठाएकै’ दिन नेपाल प्रहरीले पत्रकार सम्मेलन गरेर बहादुरीसाथ एक वर्षको अवधिमा ६ अर्ब ६३ करोड ३९ लाख ३२ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको जानकारी दियो।

भारतीय पर्यटक नेपाल घुम्न आउँदा नगद बोक्न तोकिएको सीमा बढाउन माग गरे संसद्को परराष्ट्र समितिका सभापति राजकिशोर यादवले। व्यवहारतः यो उचितै चासो भए पनि उनले बिर्सनै नहुने मानवीय विषयबारे त्यति महत्व दिएको देखिएन।

इजरायल प्यालेस्टाइन युद्धमा बेपत्ता भएका विपिन जोशीको हालखबर र रुस पुगेका नेपाली युवाको जीवनमरणको खबरबारे समितिले अपेक्षित चासो र पहल गरेको पाइएन। बिहीबार दिनभरीका गतिविधिहरूमा यो कम महत्वको शीर्षक थिएन ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १९:२३
Weather Update