काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएको छ।
उम्मेदवार छनौट प्रक्रिया पार्टीको आन्तरिक गतिविधिमा पर्ने भन्दै गुरुङ भने नियमित रुपमा जनतासँग नजिक हुन गाउँगाउँमा खटिएका छन्। राप्रपाले केन्द्रबाट उम्मेदवारको नाम सिफारिस गर्दै गर्दा जनतामा राप्रपाप्रतिको मोह जगाउने अभियानका क्रममा इलामको शान्तिडाँडा जाँदै थिए।
शान्तिडाँडा जाने क्रम बिब्लाटेमा रहेका उनले आफूहरूले जनताबाट अधिक माया पाएको बताए। गुरुङले इलाममा जनतासँग नजिक हुन पार्टी प्रक्रियागत कुनै कुरा पर्खेनन्। इलाम २ मा उपनिर्वाचन हुने भयो भन्ने भएपछि उनी जनतासँगै गाउँघरमा जनताका मत बुझ्न व्यस्त छन्।
गुरुङले भने, ‘इलाम २ मा विशेष परिस्थितिमा उपनिर्वाचन हुँदैछ। जब यहाँबाट निर्वाचित आदरणीय नेता सुवास नेम्वाङको निधन भयो। मलाई यहाँ उपनिर्वाचन हुन्छ भन्ने लाग्यो र म त्यसबेलादेखि नै यस क्षेत्रका मानिसको सोच विचार बुझ्ने काममा लागेको छु।’
उनले सुवास नेम्वाङले नेपाली राजनीतिमा पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै उहाँको निधनपछि इलामलाई धेरै क्षति पुगेको बताए। ‘राष्ट्रिय छवि बनाइएको व्यक्ति सुवास नेम्वाङ गुमेपछि यहाँ ठूलो ग्याप भयो। अब हामी युवाले नै त्यो ग्याप पूरा गर्नुपर्छ भन्ने लागेर म त्यति बेलादेखि नै भेटघाटमा सक्रिय भएको छु,’ उनले भने, ‘हामी अघिदेखि नै विभिन्न सर्वे तथा भेटघाटमा थियौँ। कार्तिक देखिनै यो काम जारी छ। त्यसमा पनि पछिल्लो दुई महिनादेखि हामी अघोषित रुपमा जुटेका छौँ। जनताका कुरा बुझेका छौँ।’
गाउँमा घुम्दा जनताले विगतमा छानिएका नेता र पार्टीले काम नगरेको भन्ने गुनासो गरेको पाइएको गुरुङले सुनाए। उनले भने, ‘यो ३५/३६ वर्षमा उहाँहरूले छान्नु भएको दल नेपाली कांग्रेस र एमाले नै हो। ती दल प्रति निक्कै गुनासो, निराशा र आक्रोश पाइयो। गर्छौ भनेर नगरेका प्रतिवद्धता धेरै पाइयो। यसबाट मैले के बुझेँ भने म चाहिँ अब गर्न नसक्ने प्रतिवद्धता गर्दिन। एउटा विधायकले कति गर्न सक्छ म त्यतिमात्र प्रतिवद्धता गर्छु। झुटो बोलेर भोट माग्दिन। बरु मत कम आओस् मलाई गुनासो हुने छैन।’
विदेशमा भएको अभ्यास भित्र्याउन पहल गर्ने
गुरुङले आफू ८/९ वर्ष अध्ययन र रोजगारीका क्रममा विदेश बस्दा सिकेको अभ्यासलाई इलाममा प्रयोग गर्न लागि पर्ने बताए। उनी अध्ययनका क्रममा तीन वर्ष सिंगापुर बसेको थिए। अध्ययनपछि उनले चार वर्ष सिंगापुर मै काम गरे। त्यसपछि इन्डोनेसियाको बालीमा एक वर्ष तथा दक्षिण कोरियामा पनि एक वर्ष बसेर काम गरेका छन्।
यी देशमा गरेको काम, यी देशले सिकाएको श्रम संस्कृति तथा उत्पादन बजारीकरणको विषयलाई आफूले इलाममा लागू गराउन भूमिका खेल्ने गुरुङले बताए। ‘अहिले गाउँ जनशक्ति विहीन भएको छ। यहाँ जनशक्तिको व्यवस्थापन गर्न जरुरी छ। यहाँका उत्पादनले पनि बजार नपाएर समस्या छ। यी सबैको व्यवस्थापन गर्नुछ। मैले निर्वाचनमा जिते वा हारे यी क्षेत्रमा म काम गर्छु। इलाममा एग्रिकल्चर कर्पोरेट सिस्टम हुनुपर्छ भन्ने मान्यता मेरो छ। सँगै यो क्षेत्रलाई पर्यटनको माध्यमबाट विश्व बजारमा पुर्याउन सकिन्छ। मैले पर्यटनकै क्षेत्रमा सिंगापुर र बालीमा काम गरेको छु। यहाँ पनि त्यसको प्रयोगमा जुट्नेछु,’ गुरुङले भने।
‘गाउँघरमा गएर जनताको अभिमत बुझ्नेक्रममा यो क्षेत्रका ३०/४० हजार युवा वैदेशिक रोजगारीमा छ। ती युवाको मनोभाव म आफैँ विदेश बसेर आएको भएकाले बुझेको छु। उहाँहरूको साथ पनि मलाई रहन्छ भन्ने विश्वास छ,’ उनले भने।
संस्कृति संरक्षण गर्दै परिवर्तनमा जुटौँ
संस्कृति संरक्षणको विषयलाई गुरुङले आफ्नो मूल मुद्दाका रुपमा अघि सारेका छन्। उनले भने, ‘हाम्रो मूल मुद्दा रैथाने धर्मसंस्कृतिको संरक्षण गर्ने नै हो। पुराना कुराको संरक्षण गरेर पनि परिवर्तन सम्भावना छ भन्ने हाम्रो मान्यता छ। सबै संरचनालाई एकै परिवेशमा अटाउन सकिन्छ। त्यो हामीले बुझेका छौँ। हाम्रो यी एजेण्डालाई अहिले युवा पुस्ताले मन पराउनुभएको छ।’
‘हिजो पार्टीका गतिविधिमा हिँड्दा युवाको सहभागिता कम हुन्थ्यो। अहिले सहभागिता बढेको छ। आज पनि म शान्तिडाँडा जाँदैछु। मसँग १०/१५ जना युवा साथी हुनुहुन्छ। यो परिवर्तन हो। हामी यही परिवर्तनका साथ युवापुस्तासँग नजिक भएर सबै समुदायसँग मिलेर काम गर्नेछौँ। पुराना संस्कार र संस्कृति जगेर्नाको मुद्दा सबैको रोजाइमा छ,’ उनले भने, ‘यी एजेण्डालाई स्थापित गराउने अस्त्रका रुपमा उपनिर्वाचनलाई लिएका छौँ।’
उनले इलामको चिया, अलैंची, दूध तथा गोलियाको बिक्री वितरणलाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गर्न आफू लागि परिरहने बताएका छन्। उनले इलामलाई कर्पोरेट एग्रिकल्चरका रुपमा विकास गर्ने गरी काम गर्ने बताएका छन्।
विकास निर्माणका विषयमा इलाममा ल्याउन सक्ने राष्ट्रिय गौरवका आयोजनाका लागि खट्ने गुरुङले बताए। ‘अब इलाममै केही गर्ने भन्ने योजनासहित म जुटेको छु। त्यसमा लागि निर्वाचनमा जित हारको कुरा फरक भयो। मैले जिते पनि हारे पनि इलाममा राष्ट्रिय योजना भित्र्याउन गर्ने पहलका लागि जुट्नेछु। यी सन्देश मतदातासम्म सही रुपमा पुग्न सक्यो र हामीले पुर्याउन सक्यौँ भने यसपालिको जनमत हाम्रो पक्षमा हुनेछ।