News Griha :: न्यूजगृह
गगन थापाले सुरु गरे स्थगित भएको संवाद यात्रा 

नवलपरासी— नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको संवाद यात्रालाई फेरि सुरु गरेका छन्। 

आज बिहान ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक बीपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले संवाद यात्रा सुरु गरेका हुन्। 

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो।

संवाद यात्रा आज, भोलि र पर्सी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने कांग्रेस केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले जानकारी दिए। 

महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरुका समस्याहरु सुन्ने गरेका छन्। यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरुको निरिक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना छ। 

सुरुदेखि नै हुलाकी मार्गमा भइरहेको संवाद यात्रा अन्तर्गत आज महामन्त्री थापा नवलपरासीको गोपीगञ्जपछि पट्खौली हुदै जिल्ला पार्टी कार्यालय पुगेर रुपन्देही प्रस्थान गर्नेछन्। 

आजै रुपन्देहीको धकधही, भैरहवा, जिल्ला पार्टी कार्यालय हुदै बेथरी सम्म पुग्ने छ। भैरहवामा उनले उद्योग व्यवसायीसँग संवाद गर्नेछन भने बेथरीमा स्थानीय सरोकारका विषयमा छलफल गर्नेछन्।  भोलि १६ गते रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रियाबाट संवाद यात्रा सुरु भई कपिलवस्तु प्रवेश गर्नेछ। 

थापा नेतृत्वको संवाद यात्रा टोलीले १६ गते नै कपिलवस्तुको लबनी, जिल्ला पार्टी कार्यालय, महाराजगञ्जको पालिका कार्यालय हुँदै चन्द्रौटासम्म संवाद गर्नेछ। 

त्यसैगरी १७ गते बिहान दाङको गोवरडिहामा थारु संवादबाट सुरु हुने संवाद यात्रा जङ्ग्रहवा हुदै बाँके प्रस्थान गर्नेछ। बाँकेमा उनले १७ गते सिक्टा सिंचाई आयोजनाको अवलोकन गर्नुहुने र फत्तेपुरमा जनसंवाद गर्नुहुने यात्रामा संगै रहेका नेविसंघका पूर्वमहामन्त्री युवराज पाण्डेले जानकारी दिए। 

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समुदायमा कांग्रेस अभियान अन्तर्गत नै महामन्त्री थापाले यो संवाद यात्रालाई निरन्तरता दिएका हुन्।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १०:४३
Weather Update