News Griha :: न्यूजगृह
सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ स्कुलमा भर्ना गर्न प्रधानमन्त्री तहबाटै दबाब!

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्रिन्सिपललाई नयाँ शैक्षिकसत्रको भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आग्रह गरेकी छन्।

उनले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गरेकी हुन्। 

ती विद्यालयका प्रिन्सिपलसँग आज  मन्त्रालयमा  भएको बैठकमा मन्त्री श्रेष्ठले भनिन्, 'विद्यालयले भर्नाका लागि आवेदन आह्वान गरेपछि धेरैले तपाईँहरूको त कोटा हुन्छ, भनिदिनु प-यो भनेर दबाब दिइरहनुभएको छ। उहाँहरूको भनाइअनुसार मन्त्री, सचिव, महानिर्देशक, जिल्लाका प्रशासन र प्रहरी प्रमुखलगायतको कोटाका आधारमा भर्ना हुन्छ रे , विगतमा त्यस्तो विकृति थियो भने पनि अब अन्त्य गर्नुपर्छ।'

छलफलमा तीनवटै विद्यालयका प्रिन्सिपलले भर्ना छनोट प्रक्रियाबारे जानकारी गराउँदै विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको गुनासो गरेका थिए। मन्त्री श्रेष्ठले विगतमा जे भए पनि अबदेखि पहुँचका आधारमा भर्ना नलिन र स्थानीय सरकारसँग पनि पर्याप्त समन्वय गर्न आग्रह गरिन्।

'पहुँचको आधारमा दबाब र प्रभावमा परेर होइन बरु गरिब र निम्नस्तरका विद्यार्थीलाई प्राथमिकता दिनुस्,' मन्त्री श्रेष्ठले भनिन्, ‘पहुँचका आधारमा भर्ना हुन्छ भन्ने भाष्यलाई चिर्नुपर्छ।'

मन्त्री श्रेष्ठले आफ्नो वा मन्त्रालयको नाम दुरुपयोग गरेर कसैले भर्नाका लागि दबाब दिए जानकारी गराउनसमेत तीनवटै विद्यालयका प्रिन्सिपललाई अनुरोध गरेकी थिइन्। 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  २१:५८
Weather Update