काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले संसारका विभिन्न मुलुकले संस्कृत भाषाको माध्यमबाट अनेक प्रयोग गरिरहेको सन्दर्भमा नेपाली पछि पर्न नहुने बताएका छन्।
काठमाडौंमा आयोजित नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। संस्कृत भाषाको पठनपाठनमा सरकार उदासीन रहेका बेला उनले भने यो परम्परागत ज्ञान विज्ञानका क्षेत्रसम्म पुग्ने एउटा महत्वपूर्ण माध्यम रहेको बताए। संस्कृत भाषाको संरक्षण गरेर अनुसन्धानमा अघि नबढ्दा पछि परिने भनाइ उनले राखे।
उनले भने, ‘संस्कृत भाषा ज्ञान विज्ञानका क्षेत्रहरूमा पुग्ने एउटा महत्वपूर्ण माध्यम हो। परम्परागत ज्ञान विज्ञानको प्राथमिक स्रोतहरूमा पुग्ने महत्वपूर्ण माध्यमको रुपमा संस्कृत भाषा रहेको छ, यो साँचो कुरा हो। यसलाई एउटा महत्वपूर्ण स्रोतको रुपमा विश्व समुदायले उपयोग पनि गरिरहेको छ। फेरि यो किन सीमित भयो। यही क्षेत्रमा सीमित हुन किन पुग्यो ?’
उनले संस्कृत भाषाका माध्यमबाट ज्ञान विज्ञानमाथिको पहुँच सहज बनाइ आधुनिक विज्ञानसँग संयोजित गर्न सके धेरै फाइदा रहेको उल्लेख गरे।
उनले भने, ‘हामीले त्यो परम्परागत ज्ञान विज्ञानमाथिको पहुँच त राम्रोसँग स्थापित गर्न सक्छौँ। जो आज पनि जे कुरा महत्वका छन् ती माथि पहुँचलाई सहज बनाउन सक्छौं। त्यसलाई आधुनिक विज्ञानसँग संयोजित गर्दै हाम्रो समग्र क्षेत्रलाई अझ प्रचलित बनाएर अगाडि बढ्न सक्छौँ।’
मन्त्री बस्नेतले संस्कृत भाषाको रक्षा र प्रवर्द्धनलाई सरकारले गम्भीरतापूर्वक लिएको दाबी गरे ।