मानिसलाई लाग्ने धेरैजसो घातक रोगका जीवाणु (भाइरस) विभिन्न पशुबाट आएका हुन्छन्। तर एउटा नयाँ अध्ययनले पशुबाट मानिसमा सर्नेभन्दा दोब्बर बढी भाइरस मानिसबाट पशुमा सर्ने गरेको देखाएको छ। उक्त अध्ययनले मानिसबाट अरु प्राणीहरुमा धेरै असर पुग्ने गरेको विषय उजागर गरेको छ।
यो अध्ययनका लागि सार्वजनिक रुपमा उपलब्ध सबै भाइरसका जीनोम अनुक्रम (जीनोम सिक्वेन्स)को निरीक्षण गरिएको थियो। शोधकर्ताहरुले करिब १.२ करोड भाइरसको जीनोमको अध्ययन गरे र भाइरसहरु एक प्रजातिबाट दोस्रो प्रजातिमा सर्ने करिब ३ हजार उदाहरण पत्ता लगाए। जसमध्ये ७९ प्रतिशत केसमा वाइरसहरु पशुको एउटा प्रजातिबाट अर्को प्रजातिमा सरेको देखियो। बाँकी २१ प्रतिशत केस मानिससँग सम्बन्धित थियो। यस्तो २१ प्रतिशत केसमध्येको ६४ प्रतिशत केसमा मानिसबाट पशुमा भाइरस सरेको देखियो, जसलाई एन्थ्रोपोनोसिस भनिन्छ। बाँकी ३६ प्रतिशत केसमा पशुबाट मानिसमा भाइरस सरेको देखियो, जसलाई जुनोसिस भनिन्छ।
मानिसबाट भाइरस सर्ने प्रक्रिया (एन्थ्रोपोनोसिस)बाट प्रभावित हुने पशुमा कुकर, बिरालो, सुंगुर तथा बंगुर, घोडा, गाइ–भैसी जस्ता घरपालुवा जनावर, कुखुरा तथा हाँस जस्ता पंक्षी, चिम्पान्जी, गोरिल्ला तथा बाँदर देखिए।
अध्ययनबाट जंगली जनावरहरुमा मानिसबाट भाइरसहरु सर्ने सम्भावना धेरै देखियो। यो अध्ययनको नतिजा यसै साता ‘नेचर इकोलोजी एन्ड एभोलुस’ नामक पत्रिकामा छापिएको थियो। सेड्रिक सीएस ट्यान यसका मुख्य लेखक हुन्। जो युनिभर्सिटी कलेज लन्डनमा जेनेटिक्स इन्स्टिट्यूटमा कम्प्युटेशनल बायोलोजीका डाक्टरेट विद्यार्थी पनि हुन्। उनी भन्छन्, ‘यसले हाम्रो वरिपरीको पर्यावरण तथा पशुमा हामी (मानिस)बाट धेरै ठूलो असर परिरहेको विषय देखाउँछ।’
मानिस तथा पशु, दुईटैमा असंख्य माइक्रोब हुन्छन्, जो नजिकबाट सम्पर्क हुँदा एउटा प्रजातिबाट अर्को प्रजातिमा सर्न सक्छन्। यो अध्ययनमा सबै ढाड भएका जीवहरुमा हुने भाइरस ट्रान्समिसनलाई सामेल गरिएको थियो। जस्तै, स्तनधारी पशु, पंक्षी, सरीसृप तथा माछाहरुमा पनि यो अध्ययन गरिएको थियो।
ट्यान भन्छन्, ‘भाइरस त्यस्तै तरिकाले अलग अलग प्रजातिमा प्रवेश गर्न सक्छन्, जो मानिसको हकमा पनि लागु हुन्छ। जस्तै, संक्रमित फ्लुइडबाट अथवा दोस्रो प्रजातिले टोकेर सर्ने गर्छ। यद्यपि नयाँ होस्टमा प्रवेश गर्नु अगाडि त्यो भाइरसमा नयाँ होस्टको कोषिकामा पुग्नका लागि या त पहिलेदेखि नै बायोलोजिकल टुलकिट हुनु पर्छ, नभए नयाँ होस्टमा हुनेजस्तै गुण हासिल गर्नुपर्छ।’
पछिल्लो शताब्दीमा लाखौं मानिसको मृत्युको कारण बनेका महामारी फैलाउनमा पशुबाट मानिसमा सर्ने भाइरस, ब्याक्टेरिया तथा फंगस् जिम्मेवार थिए। एड्स, बर्ड फ्लू, १४औं शताब्दीको ब्युबोनिक प्लेग, इबोला जस्ता रोगहरु यसै श्रेणीमा आउँछन्।
ट्यान स्मरण गराउँछन्, ‘कोभिड १९ महामारी फैलाउने एसएआरएस–सीओवी–२ होर्सयू चमेरोबाट आएको भन्ने मान्यता पनि छ। यद्यपि एसएआरएस–सीओवी–२ को संक्रमण मानिसबाट घरपालुवा मिन्कमा फैलिएको उदाहरण पनि सतहमा आएको थियो। एक प्रजातिबाट दोस्रो प्रजातिमा फैलिने कयौं ट्रान्समिसन महत्त्वहीन पनि हुन्छन्।– एजेन्सीको सहयोगमा