-1696254918.jpg)
काठमाडौं— सिरहाको कर्जन्हा नगरपालिकामा प्रशासकीय भवन निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा तत्कालीन नगरप्रमुख, दुई प्रशासकीय अधिकृत, लेखापाल र निर्माण कम्पनी प्रतिनिधि विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
सार्वजनिक खरिद ऐनको प्रावधान विपरीतका काम गरेकाले १ करोड ८ लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनियमितता गरेको भन्ने उजुरी परेको थियो। अनुसन्धानपछि तत्कालीन नगरप्रमुख गङ्गा पासवान, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनी महालक्ष्मी पाण्डे एण्ड कम्पनी ड्रागन जेभीविरुद्ध मुद्दा दायर भएको हो।
उक्त पालिकाले निर्माण स्थलको व्यवस्था नभई बोलपत्र आह्वान गरेको मात्रै थिएन निर्माण कम्पनीलाई पेस्कीस्वरूप १ करोड ८ लाख रुपैयाँ निकासा दिएको थियो।
स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनका लागि बोलपत्र आह्वानको निर्णय गर्दै सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गराएकाले रकम असुलउपर गर्दै सजायको मागदाबी आयोगले लिएको छ।
आयोगका अनुसार निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवले कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि एडभान्स पेमेन्ट ग्यारेन्टी राखी मोबिलाइजेसन पेस्की भुक्तानी लिए पनि काम थालेका थिएनन्। एडभान्स पेमेन्ट ग्यारेन्टीको म्याद समाप्त भइसक्दा पनि नगरपालिकाले न म्याद थप गरेको थियो न त फिर्ता दाखिला गराएको थियो।
सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गराएको भन्दै आयोगले आरोपपत्रमा सम्बद्ध जनप्रतिनिधि, कर्मचारी र निर्माण कम्पनीबाट बिगो असुलउपर हुनुपर्ने र सजाय गरिनुपर्ने मागदाबी लिएको छ।













