News Griha :: न्यूजगृह
सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी (फाइल तस्बिर)

टीकापुर— नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। कैलालीको टीकापुरस्थित पार्टी कार्यालयमा बुधबार बसेको केन्द्रीय समिति र प्रदेश सभा सदस्यहरुको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। 

नाउपाका केन्द्रीय सदस्य रमेश विश्वकर्माले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए। कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई हामीले समर्थन दिँदा पनि अल्पमतमा पर्ने देखिएकाले समर्थन फिर्ता नै लिने निर्णय भएको विश्वकर्माको भनाइ छ। 

‘हामीले समर्थन गर्दा पनि कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकिने स्थिति छ। अर्कोतर्फ संघीय सरकारमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर पनि बाहिर नै रहनुपर्ने र अन्य प्रदेशमा पनि सरकारमा सहभागी हुन कठिन हुने भएपछि हामीले यस्तो निर्णय गर्‍यौँ,’ विश्वकर्माले भने। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सत्ता सहकार्य छाडेर एमाले सहितका पार्टीसँग नयाँ गठबन्धन गरेपछि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भनेर नाउपामा तीव्र विवाद देखिएको थियो। पार्टीका संरक्षक रेशम चौधरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नहुने पक्षमा थिए। यस्तै, उनले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार जोगाउनका लागि पार्टीका सांसदलाई मन्त्री समेत नियुक्त गर्न लगाएका थिए। 

रेशमकी पत्नी तथा नाउपाकी अध्यक्ष रञ्जिता भने कांग्रेसलाई साथ नदिने पक्षमा थिइन्। रञ्जिताले नै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकी थिइन्। 

नाउपाको बैठकले प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरण फेरेपछि बनेको नयाँ गठबन्धनमा सहभागी हुने निर्णय समेत गरेको छ। नयाँ गठबन्धनको सन्दर्भमा यसअघि पार्टीमा २ धार देखिए पनि पार्टीको हित र जनताको हितमा काम गर्न नयाँ गठबन्धनमा जानु उपयुक्त भएको ठहर गरिएको केन्द्रीय सदस्य विश्वकर्माको भनाइ छ। 

नाउपा पनि नयाँ गठबन्धनमा सामेल भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले विश्वासको मत कायम राख्ने सम्भावना झन् कमजोर बनेको छ। ५२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्छ। 

७ जना प्रदेश सभा सदस्य रहेको नाउपाले पनि समर्थन फिर्ता लिने भएपछि अब शाह नेतृत्वको सरकारलाई नेपाली कांग्रेसका १८ जना सांसदको मात्रै समर्थन हुने देखिएको छ। 

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८, नेकपा माओवादी केन्द्रका माओवादीका सभामुखबाहेक १०, एमालेका १० र नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र सांसद १ जना छन्।  

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १६:५४
Weather Update