News Griha :: न्यूजगृह
रास्वपाले स्पष्टीकरण सोधेपछि रमेश खरेलले बुझाए अङ्ग्रेजीमा राजीनामा

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्टीकरण सोधेपछि रमेश खरेलले राजीनामा बुझाएका छन्। खरेलले बुधबारबाट लागू हुने गरी रास्वपाको आबद्धता त्यागेका हुन्।

खरेल गत वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए। उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए।

खरेलले केही दिनअघि स्वार्थ बाझिने गरी गृह मन्त्रालयको नेतृत्व सम्हालेको भन्दै पार्टी सभापति रवि लामिछानेको आलोचना गरेका थिए। यसैबारेमा उनलाई पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो। 

‘उहाँसँग स्पष्टीकरण सोधिएको थियो,’ रास्वपा महामन्त्री मुकुल ढकालले भने, ‘उहाँले अङ्ग्रेजीमा राजीनामा पत्र लेखेर पठाउनुभएको छ।’ 

गहन विचारपछि आफू राजीनामाको निष्कर्षमा पुगेको खरेलले राजीनामा पत्रमा उल्लेख गरेका छन्। यसअघि सुशासन पार्टीका अध्यक्ष रहेका खरेललाई रास्वपाले केन्द्रीय सदस्य बनाउन खोजे पनि जिम्मेवारी लिन भने अस्वीकार गरेका थिए।

२०७९ मंसिर ४ गतेको निर्वाचनमा खरेल सुशासन पार्टीका तर्फबाट काठमाडौं–१ को उम्मेदवार थिए। 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १६:१६
Weather Update