
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम–२ को उपनिर्वाचनमा उम्मेदवारको रुपमा नाम सिफारिस भएका पार्टीका नेताहरूसँग छलफल गर्ने भएका छन्।
कांग्रेसको क्षेत्रीय समितिले सिफारिस गरेका सात जनाको नामलाई नै जिल्ला समिति र प्रदेश समितिले केन्द्रलाई सिफारिस गरेर पठाएपछि सबै उम्मेदवारसँग छलफल गर्ने तयारी देउवाले गरेका हुन्।
अहिले उम्मेदवार सिफारिस भएका कांग्रेस नेता काठमाडौंमा भेला भएका छन्। आफ्नो नाम सिफारिसका लागि नेताहरूको गृहकार्य जारी छ। काठमाडौंमै छलफलमा रहेका जिल्ला सभापति तथा उम्मेदवारमा नाम सिफारिस डम्बर खड्काले आन्तरिक तथा पार्टीगत छलफलमा रहेको बताए।

उनले यसअघि नै सभापति शेरबहादुर देउवासँग भेटघाट गरेको पनि बताए। उनले भने, ‘सभापति ज्यूसँग पहिले पनि मैले छलफल गरेको छु। अब पनि छलफल गर्ने नै हो। तर उहाँले हामीलाई समय तोकेर बोलाउनुभएको छैन। पार्टीका साथीहरूसँगको छलफल भने जारी छ।’
पार्टीले चैत २० गतेसम्ममा उम्मेदवारको नाम टुंङ्ग्याउने खड्काले बताए। उनले भने, ‘पार्टीले उम्मेदवारको नाम चैत २० गतेभित्र टुंङ्ग्याउनेछ। हामी चुनावी अभियानकै क्रममा छौँ। जिल्लामा कांग्रेसले चुनाव नै नलागेपछि जनतासँग नजिक भएर काम गरिरहेको छ। त्यसैले यस पटक जनताले हामीलाई साथ दिनुहुन्छ।’
गठबन्धनका बेग्ला बेग्लै उम्मेदवार घोषणाले कांग्रेसलाई कति फाइदा होला भन्ने प्रश्नमा खड्काले भने, ‘इलाम-२मा कांग्रेस इत्तरका दलले गठबन्धन गरे पनि नगरे पनि कांग्रेसलाई खासै प्रभाव पर्दैन। किनकि कांग्रेस इलामले चुनाव लक्षितमात्र काम गरेको छैन। विगतदेखिनै जनतासँगको घरदैलो जारी छ। जनताका आवश्यकता र आवाजलाई कांग्रेसले नजिकबाट सुन्दै सम्बोधन गर्दै आएको छ। यसबाट हामी विश्वस्त छौँ। हामीलाई लाग्छ जनताको साथ कांग्रेसलाई छ।
काठमाडौंमा रहेका उम्मेदवारमा सिफारिस भएका नेताहरू घर फर्कने क्रम सुरु भएको भन्दै खड्काले अब चुनाव लक्षित पार्टीका गतिविधि अघि बढाइने बताए।