
सुडान— सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको संख्या ९७ पुगेको छ ।
सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका दुई जनरल, सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहान र शक्तिशाली अर्धसैनिक रेपिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमाण्ड सम्हालिरहेका उनका सहयोगी मोहम्मद हमदान डग्लोबीच हप्तौंदेखि चलेको शक्ति संघर्षपछि शनिबारदेखि हिंसा सुरु भएको हो ।
खार्तूम र सुडानका अन्य शहरहरूमा हवाई आक्रमण, सडकमा ट्यांकहरू, तोपखानाको गोलाबारी र भारी गोलीबारीसहित भएको भीषण द्वन्द्वले तत्काल युद्धविरामको लागि अन्तर्राष्ट्रिय मागहरू उठाएको छ ।
‘शनिबारदेखि सुरु भएको झडपमा सर्वसाधारणको मृत्यु हुनेको संख्या ९७ पुगेको छ,’ चिकित्सक संघले सोमबार भनेको छ,‘यो आँकडामा सबै हताहती समावेश गरिएको छैन किनभने लडाइँ कारण आवतजावतमा कठिनाइ भएका कारण धेरै जना अस्पताल पुग्न सकेका छैनन् ।’
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खार्तूमका नौ वटा अस्पतालमध्ये केहीमा रगत, रक्तसञ्चार उपकरण र अन्य अत्यावश्यक सामग्रीको अभाव भएको भन्दै चेतावनी दिएको छ ।













