News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
गठबन्धनका दलले उपनिर्वाचनमा आ–आफ्नै उम्मेदवार उठाउँदा कांग्रेसलाई कति फाइदा?

काठमाडौं— वैशाख १५ गते इलाम २ र बझाङ १ (१) मा हुने उपनिर्वाचनका लागि सत्तारुढ गठबन्धनका दलहरुले आ–आफ्नै उम्मेदवार उठाउने भएका छन्। गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले यसअघि नै उम्मेदवार तय गरिसकेको छ। संघीय सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पनि उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ। 

गठबन्धनको अर्को मुख्य घटक राष्ट्रिय स्वतन्त्र पार्टीले विगत १ महिना अगाडिदेखि नै उपनिर्वाचनका लागि विशेष अभियान चलाइरहेको छ। उक्त पार्टीले उपनिर्वाचनका लागि माहोल बनाउन भन्दै महामन्त्री कविन्द्र बुर्लाकोटीलाई खटाएको छ। 

सत्ता गठबन्धनमै रहेको अर्को दल नेकपा एकीकृत समाजवादीले पनि इलाम २ र बझाङ १(१) मा आफ्नै उम्मेदवार उठाउने तयारी गरेको छ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम २ बाट जीतबहादुर राई र बझाङ १ (१) बाट दिलबहादुर सिंहलाई उम्मेदवार उठाउने पक्का भइसकेको बताएका छन्। त्यसबारे पार्टीले आज–भोलिमा नै निर्णय गर्ने खनालको भनाइ छ। 

Prabhu Bank

गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले भने उपनिर्वाचनको विषयमा कुनै निर्णय गरिसकेको छैन। उपनिर्वाचन हुने पहाडी क्षेत्रमा खासै ठूलो जनाधार नरहेको जसपाले गठबन्धनकै अरु दललाई समर्थन गर्ने सम्भावना पनि छ।  

सत्तारुढ गठबन्धनमा रहेका एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीले आ–आफ्ना उम्मेदवारसहित उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने भएपछि त्यसको फाइदा कांग्रेसलाई हुने विश्लेषण हुन थालेको छ। २०७९ सालको आम निर्वाचनको नतिजालाई आधार मान्दा उपनिर्वाचनमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। 

२०७९ सालको आम निर्वाचनमा समानुपातिकतर्फ इलाम २ मा एमालेले २६ हजार ५६२ र नेपाली कांग्रेसले २२ हजार ३३३ मत पाएका थिए। यस्तै, माओवादी केन्द्रले ५ हजार १५३ मत पाएको थियो भने पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ६८६ मत पाएको थियो। 

प्रतिनिधि सभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङबाट २०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले २२ हजार ६७४ र नेपाली कांग्रेसले १९ हजार ४३७ मत पाएको थियो। यस्तै, माओवादी केन्द्रले ८ हजार २९५, नेकपा एकीकृत समाजवादी पार्टीले ५ हजार १ र  राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार २९६ मत पाएको थियो। 

सत्ता गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनका लागि प्रतिनिधि सभातर्फ मात्रै उम्मेदवारी दिने तयारी गरेको छ। रास्वपाले २०७९ सालको निर्वाचनमा पनि प्रदेश सभाका लागि उम्मेदवारी दिएको थिएन। 

फाइदा लिन कति तयार छ कांग्रेस?

२०७९ सालको निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का ११४ मतको अन्तरले मात्रै पराजित भएका थिए। नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत ल्याउँदा कांग्रेस उम्मेदवार खड्काले २९ हजार ९०६ मत ल्याएका थिए। 

संविधान सभाका अध्यक्ष समेत रहेका नेम्वाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुन लागेको हो। एमालेले नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।  

२०७९ सालको निर्वाचनमा बझाङ १ (१) बाट नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंह विजयी भएका थिए। सिंहले १७ हजार ११२ मत ल्याएका थिए। उनका प्रतिस्पर्धी नेकपा एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए। कांग्रेसबाट निर्वाचित भएका सिंहको सवारी दुर्घटनामा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। एमालेले यसपटक बझाङ १ (१) बाट दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

गठबन्धनमा रहेको एमालेले सत्ता साझेदार अरु दलसँग छलफल नै नगरी इलाम २ र बझाङ १ (१) का लागि उम्मेदवार तय गरेको थियो। जबकि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहकार्य गरेर उपनिर्वाचनमा जाने मनस्थितिमा थिए। नेकपा एमालेका नेताहरु आफ्नो पार्टीको जित्ने आधार बलियो रहेको अवस्थामा गठबन्धनका अरु दलहरुसँग साझेदारी गरेर चुनाव लड्न उपयुक्त नहुने बताउने गरेका छन्। एमालेका नेताहरुले उपनिर्वाचनमा कांग्रेससँग नै मुख्य प्रतिस्पर्धा हुने पनि बताउने गरेका छन्। 

तर कांग्रेस भने उम्मेदवार तय गर्ने विषयमा अझै अनिर्णित छ। खास गरेर पार्टी भित्रको आन्तरिक विवादले कांग्रेसलाई उम्मेदवार तय गर्न मुस्किल परिरहेको छ।  

इलाम २ को उम्मेदवार लागि क्षेत्र, जिल्ला र प्रदेशबाट निर्णय भएर ७ जनाको नाम कांग्रेस केन्द्रमा सिफारिस भएको छ। सिफारिस हुनेमध्ये भेषराज आचार्यको नाम १ नम्बरमा छ।  दोस्रोमा पूर्वसांसद केशव थापा र तोस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम सिफारिस गरेको छ। त्यस्तै संविधान सभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम पनि उम्मेदवारका लागि सिफारिस भएको छ। 

बझाङ १ (१) को उम्मेदवारीका विषयमा पनि कांग्रेसलाई निर्णय लिन मुस्किल परिरहेको छ। कांग्रेसबाट बझाङ १ (१)का लागि   अभिषेक सिंह र जगतप्रसाद जोशीको प्रमुख दाबेदारी छ। सिंह दुर्घटनामा निधन भएका पृथ्वीबहादुर सिंहका छोरा हुन्। सिंह २०७९ सालको स्थानीय तह निर्वाचनमा जयपृथ्वी नगरपालिकाको वडा नम्बर ५ को वडाध्यक्षका लागि प्रतिस्पर्धी थिए। तर स्वतन्त्र उम्मेदवार प्रेमबहादुर थापासँग ७० मतले पराजित भए। कांग्रेसबाट उम्मेदवार बन्नका लागि लबिइङमा रहेका अर्का आकांक्षी जोशी महासमिति सदस्य हुँदै हाल महाधिवेशन प्रतिनिधि छन्। 

फेरिएको समीकरणले पार्ने प्रभाव

२०७९ सालको आम निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसहित पार्टीहरु गठबन्धन गरेर प्रतिस्पर्धामा उत्रिएका थिए। इलाम २ र बझाङ १(१) मा कांग्रेसलाई माओवादी केन्द्रसहित तत्कालीन गठबन्धनका अरु दलले समर्थन गरेका थिए। 

गठबन्धनका बाबजुद पनि कांग्रेस इलाम २ मा पराजित भएको थियो। जबकि बझाङ १ (१) मा कांग्रेसले गठबन्धनकै बलमा चुनाव जितेको थियो। किनभने समानुपातिकतर्फ बझाङबाट कांग्रेसले पाएको मत एमालेको भन्दा ३ हजार २३७ ले कम थियो। 

२०७९ सालको आम निर्वाचनपछि केन्द्रमा समीकरण फेरियो। सरकार गठन गर्नलाई एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा र एकीकृत समाजवादीको गठबन्धन बन्यो। त्यही गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए। पछि राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेपछि एमालेसहित रास्वपा र राप्रपा गठबन्धनबाट बाहिरिएका थिए। 

कांग्रेससँग १ वर्ष सत्ता सहकार्य गरेका प्रधानमन्त्री प्रचण्डले गत फागुन यता गठबन्धन फेरेका छन्। र अहिले केन्द्रमा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीको गठबन्धन बनेको छ। 

सरकार सञ्चालनका लागि गठबन्धनमा रहेका दलहरुले आ–आफ्नै उम्मेदवार उठाएर चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेपछि त्यसको ‘थोर–बहुत’ असर चुनावी परिणाममा पनि पर्ने देखिन्छ। 

त्यसमाथि इलाम २ मा क्षेत्रीय स्तरका मुद्दाहरुले पनि जनमतलाई प्रभावित पार्ने देखिन्छ। खास गरेर पहिचानको मुद्दाले दलहरुको जनमतलाई केही हदसम्म प्रभावित पार्ने पूर्वानुमानहरु भइरहेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:१९
sagarmatha cementsagarmatha cement
Weather Update