News Griha :: न्यूजगृह
आवेगमा हतौडा प्रहार गर्दा ७० वर्षीया वृद्धाको मृत्यु, युवक पक्राउ

रूपन्देही—  रूपन्देही प्रहरीले वृद्धा हत्या घटनामा एक जनालाई पक्राउ गरेको छ।

शुद्धोधन गाउँपालिका–६ वेलहिया घर भई सियारी गाउँपालिका–७ राम जानकी चोक डेरा गरी बस्ने ७० वर्षीया उजेली लोधको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २९ वर्षीय युवकलाई गएराति पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सियारी गाउँपालिका-७ अमुवा बस्ने २९ वर्षीय प्रभुनाथ थारू छन्। उजेलीलाई सुतेको अवस्थामा थारूले फलामको हतौडा प्रहार गरेका थिए।

त्यसपछि उनलाई उपचारको लागि भीम अस्पताल भैरहवा लगिएको थियो।

उपचारको क्रममा उजेलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय छपियाले जनाएको छ। थारूलाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मृतकले गालीगलोज गर्ने गरेको र रिसको आवेगमा थारूले हतौडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १३:२९
Weather Update