सुन तस्करीको आरोपमा काठमाडौंबाट २ जना पक्राउ

काठमाडौं— रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–११ का २६ वर्षीय सुदीप विक र गोरखाको चुमनुव्री गाउँपालिका–६ घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामा छन्।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको हो।
भन्सार छलेर रसुवाको केरुङ नाका हुँदै ल्याएको १२८.७ ग्राम सुनसमेत उनीहरूको साथबाट बरामद भएको कार्यालयका प्रवक्ता नकुल पोखरेलले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको एसपी पोखरेलले जानकारी दिए।
प्रकाशित मिति: बुधबार, चैत १४, २०८० ११:३२













