News Griha :: न्यूजगृह
भरतपुरमा घुम्न जानेले आजदेखि बाघ हेर्न पाउने

चितवन— भरतपुर भ्रमण वर्षमा घुम्न आउने पर्यटकले आजदेखि सहजै बाघ हेर्न पाउने भएका छन्। 

चितवन राष्ट्रिय निकुञ्जले निर्माण गरेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ ल्याएर सर्वसाधारणका लागि देखाउन लागिएको हो। दुईवटा भाले बाघ केन्द्रमा ल्याएर देखाउन लागिएको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको केन्द्रमा बाघ शुभारम्भ गरी सर्वसाधारणका लागि बाघ देखाइने छ। 

भरतपुर भ्रमण वर्षमा घुम्न आएका पर्यटकलाई हेर्न सहज हुने र निकुञ्जलाई समेत बाघ व्यवस्थापनमा सहजीकरण हुने गरी बाघ देखाउन लागिएको हो। निकुञ्जको मुख्यालय कसरामा थुनेर राखिएका बाघलाई स्थानान्तरण गरेर केन्द्रको खुल्ला खोरमा बाघ देखाउन लागिएको हो।

निकुञ्जको मुख्यालय कसरामा चारवटा बाघ रहेका थिए भने सौराहा क्षेत्रमा दुई वटा बाघ रहेका छन्। ती सबै बाघ उद्धार गरी ल्याइएको हो। जिल्लाको माडी, देवनगर, मेघौली, कुमरोज, नवलपुर र बाँकेबाट समस्याग्रस्त बाघ ल्याएर राखिएको थियो। 

तीनै बाघमध्ये कसरमा रहेका दुइटा भाले बाघलाई देवनगरमा ल्याएर सर्वसाधारणका लागि देखाउन लागिएको हो।

भरतपुर महानगरपालिकाको आग्रहमा निकुञ्जले बाघलाई सर्वसाधारणलाई हर्न मिल्ने गरी देनगरमा ल्याएको हो। महानगर प्रमुख रेनु दाहालले निकुञ्ज घुम्न आउने अधिकांश पर्यटकले बाघ देख्न नपाएको भन्दै उहाँले अब चाहना राख्ने सबैले देख्न पाउने बताए। 

निकुञ्जभित्र खोरमा थुनेर राखिएका बाघलाई उद्धार केन्द्रमा राखेर पर्यटकलाई देखाउन लागिएको उनको भनाइ छ। उनले भने, ‘पर्यटकलाई केन्द्रमा राखिएका बाघ गैँडाजस्ता जनावर देखाइने छ।’

यसबाट पर्यटकले हेर्न पाउने र उनीहरुले तिरेको राजस्वले ती जनावर पाल्न सकिने उनको राय छ।

महानगरपालिकाले यसको व्यवस्थापनका लागि एक करोड रुपैयाँ खर्च गरेको छ। खोर निर्माण, मचना र सडक निर्माणमा महानगरले सहयोग गरेको हो। भ्रमण वर्षका लागि केन्द्र गन्तव्यस्थलको रुपमा विकास हुने उनले बताए। 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०७:१३
Weather Update