
तनहुँ— नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अवसरवादी चरित्रका कारण कांग्रेस कमजोर भएको बताएका छन् । तनहुँको भानु नगरपािलका–२ नारेश्वरटारमा सोमबार आयोजित तरुण युवाको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुने उल्लेख गरे ।
‘पार्टीमा व्यक्तिवादी चरित्र हावी हुँदा अवसरवादीले मौका पाइरहेका हुन्छन्, अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुन्छ, म त त्यस्ता व्यक्तिबाट सावधान भइसके’,नेता कोइरालाले भने,‘तनहुँ क्षेत्र नम्बर १ का आम नागरिकलाई पनि अवसरवादीबाट सचेत रहन आग्रह गर्दछु ।’
तनहुँ–१ को प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले पदमा नहुँदा विकासमा उल्लेख्य काम गरेको नेता कोइरालाले दाबी गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसभित्र त्रुटी कमजोरी भए पनि कांग्रेस सुधार्न सङ्कल्प बोकेर आफूहरू लागि परेको बताए ।













