News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
हानेपाले समर्थन फिर्ता लिएसँगै सङ्कटमा बागमतीका मुख्यमन्त्री जम्कट्टेल
मुख्यमन्त्री शालिकराम जम्कट्टेल।फाइल तस्बिर

मकवानपुर— मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकार सङ्कटमा परेको छ। केन्द्रमा नयाँ गठबन्धन परेसँगै प्रदेशमा अल्पमतमा परेको प्रदेश सरकारलाई हाम्रो नेपाली पार्टी (हानेपा)ले दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलको सत्ता समस्यामा परेको हो।

दुई सांसद रहेको हानेपाले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ। हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले चैत ९ गतेदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिएको भए पनि मंगलबार मात्र पत्र दर्ता गरेका हुन्।

Prabhu Bank

हानेपाले इमेलमार्फत पत्र दर्ता गराएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। हानेपाले मुख्यमन्त्रीको कार्यालयलाई पठाएको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडा र बागमती प्रदेश सभा सचिवालयलाई समेत बोधार्थ जानकारी दिएको छ ।

हानेपाले २०७९ पुस २५ गते जम्कट्टेल नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिएको थियो। हानेपा, राप्रपा र नेमकिपा मध्ये एकको समर्थनबिना मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउन सक्दैनन्। राप्रपा र नेमकिपाले सरकारलाई समर्थन नदिने बताइसकेको छ।

गत फागुन २३ मा नेपाली कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेलाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ। बागमती प्रदेशसभामा एमालेको २७ र माओवादीको २१ सिट छ। १ सय १० सदस्य रहेको बागमती प्रदेशसभामा बहुमतका ५६ सिट आवश्यक छ ।

गठबन्धनमा एकीकृत समाजवादीको ७ सिट भए पनि गठबन्धनलाई बहुमतका लागि थप एक सिट आवश्यक पर्छ। नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ।

माओवादी बागमती प्रदेश अध्यक्ष एवं माओवादी प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले हाम्रो नेपाली पार्टीसँग वार्ता भइरहेको बताए। हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीको दाबी गरेको छ। बागमतीमा कांग्रेसको ३७ र राप्रपाको १३ सिट छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  २१:००
sagarmatha cementsagarmatha cement
Weather Update