News Griha :: न्यूजगृह
हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईँका बडीगार्डलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं— हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँका २ बडीगार्डलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हतियारसहित पक्राउ परेका प्रसाईँका बडीगार्ड रामकुमार धिमाल र दीपक खड्कालाई छाड्न आदेश दिएको हो।

लाइसेन्स सहितको हतियार बोक्दा प्रहरीले पक्राउ गरेका भन्दै प्रसाईँका बडीगार्डका तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो। 

उनीहरूलाई प्रहरीले चैत ५ मा सर्वोच्च अदालत प्रवेश गर्दैगर्दा पक्राउ गरेको थियो।

उनीहरूको साथबाट लाइसेन्स प्राप्त हतियार, त्यसमा लाग्ने १ सय राउन्ड गोली समेत बरामद भएको थियो।

हतियार बोक्न पाउने लाइसेन्स खड्काको नाममा थियो। तर अदालत प्रवेश गर्दा हतियार भित्र लैजान नपाइने भएकाले अर्का बडीगार्ड धिमाललाई बोक्न दिनुलाई अन्यथा भन्न नमिल्ने अदालतले तर्क गरेको छ।

इजाजत लिएर सर्तसहित हतियार बोकी हिँडेको कार्यलाई प्रचलित कानुनले कसुर गरेको नदेखिएको आदेशमा उल्लेख छ। 

 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १९:२८
Weather Update