५० ग्राम सुनसहित विमानस्थलबाट एक युवक पक्राउ

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
भन्सार छलेर ल्याएको ५० ग्राम सुनसहित सिरहाको धनगढीमाई नगरपालिका–११ का २३ वर्षीय पुरुषोत्तम शर्मा पक्राउ परेका हुन्। उनको साथबाट ५० ग्राम तौलको सुनको ब्रास्लेट बरामद भएको छ।
विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सुन तस्करहरूले बाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई प्रयोग गरी भन्सार छलेर सुन ल्याउने गरेको पाइएको र बरामद उक्त सुन पनि सोही प्रकृतिको रहेको प्रहरीको दाबी छ।
पक्राउ परेका शर्मालाई विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८० १८:२१













