News Griha :: न्यूजगृह
उपप्रधानमन्त्री श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच भेट

काठमाडौं— उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । 

सोमबार गृह मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावना लगायतसँग उपप्रधानमन्त्रीको भेट भएको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ । 

भेटका क्रममा अर्मिदाले अति कम विकसित राष्ट्रको सूचीबाट सन् २०२६ मा हुने ग्राजुएसनका लागि राष्ट्रिय योजना आयोगको सहकार्यमा नेपालमा कार्यशाला गोष्ठी आयोजना गर्ने तथा उक्त कार्यशाला गोष्ठीमा केही प्रदेश तथा अति कम विकसित राष्ट्रहरूको उपस्थिति रहने ब्यहोरा जानकारी गराएका थिए । 

जवाफमा उप-प्रधानमन्त्री श्रेष्ठले अति कम विकसित राष्ट्रको सूचिबाट सन् २०२६ मा बिकाससिल राष्ट्रको सूचिमा स्तरोन्नति हुने प्रक्रियामा रहेको बताएका थिए । सो सम्बन्धमा संयुक्त राष्ट्रसंघबाट भएको समन्वय तथा सहकार्यको लागि मन्त्री श्रेष्ठले धन्यवाद दिएका थिए । दिगो विकासमा विशेष ध्यान दिनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । नेपालको आफ्नै मौलिक चुनौतीहरू रहेको र उक्त चुनौतीहरूलाई सम्बोधन गर्दै स्तरोन्नति हासिल गर्न नेपालले आवश्यक तयारी गरिरहेको उपप्रधानमन्त्रीको भनाइ थियो । 

अर्मिदाले संरचनात्मक रूपान्तरण जरुरी हुने भएकोले नेपालले कृषि, नवीकरणीय ऊर्जाको निर्यातमा विविधीकरण, दिगो पर्यटन, व्यापार सहजीकरण र दिगो लगानीमा जोड दिनुपर्ने उल्लेख गरे । उनले विपद् व्यवस्थापनका लागि मातहतका निकायहरूलाई उचित मार्ग निर्देशनका गर्नु पर्ने कुरामा जोड दिए ।

जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल विपद्को सम्बन्धमा जोखिमयुक्त मुलुक रहेकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा संवेदनशील रहेको जानकारी दिए । विपद्लाई समग्र रूपमा बुझी सोहीअनुरूप व्यवस्थापन गर्न सोही अनुरूप  प्राधिकरणलाई निर्देशन दिइसकेको उनको भनाइ थियो ।

संयुक्त राष्ट्र संघ जस्तो बहुपक्षीय संगठनको सकारात्मक सहयोगबाट मात्र शान्ति, सुरक्षा, दिगो विकास र सम न्यायिक सामाजिक रूपान्तरण हासिल गर्न सकिने श्रेष्ठले बताए । भेटमा आपसी सम्बन्धलाई थप सुदृढ गर्न दुवै पक्ष सदैव छलफल र थप सहकार्यको लागि कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरिएको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १७:५४
Weather Update