
काठमाडौं— बेलायत, अष्ट्रेलिया र माल्दिभ्स पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार ३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौंको शङ्करापुरका ३८ वर्षीय सुवास आचार्य, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ का २७ वर्षीय महेन्द्र अधिकारी र म्याग्दीको बेनी नगरपालिका–४ का ३९ वर्षीया राममाया गुरुङ छन्।
आचार्यले बेलायत पठाइदिने भन्दै १६ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनले बेलायतमा ‘वर्किङ भिसा’मा पठाउने भन्दै नक्कली ‘अफर लेटर’समेत देखाएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले बताए।
त्यसैगरी अधिकारीले अष्ट्रेलिया पठाइदिने भनेर १२ लाख ठगी गरेको आरोप छ। उनले अर्जुन तामाङ नाम गरेका व्यक्तिलाई अष्ट्रेलिया पठाउने प्रलोभन देखाएर ठगी गरेका हुन्।
गुरुङले आकर्षक तलबमा माल्दिभ्स पठाउने भन्दै नक्कली भिसा देखाएर ३ लाख ठगी गरेको आरोप छ। पक्राउ परेका सबैलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइने एसपी पोखरेलले बताए।













