News Griha :: न्यूजगृह
गगन थापा भन्छन्– नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले
गगन थापा (फाइल तस्बिर)

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको बताएका छन्। अहिलेको अवस्थामा धैर्य, गति र मति भएको मानिस चाहिएको थापाको भनाइ छ। 

मंगलबार काठमाडौंमा आयोजित ‘नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै थापाले पार्टी भित्र फोहोर भएको उल्लेख गरे। 

‘नवीन्द्रराज जोशीको अभावको महसुस हुने अवस्था अहिले नै हो जस्तो लाग्छ। अहिलेको अवस्थामा पार्टीभित्र इमानदार सँगसँगै योग्यताका लागि आफूलाई प्रयत्न गर्ने मानिस बढी चाहिएको छ। किनभने राजनीतिमा छट्टुहरु हाबी हुन थाले। छट्टुहरु हाबी भएको अवस्थामा हामीलाई धैर्य, गती र मति भएको मानिस चाहिएको छ,’ थापाले भने, ‘हाम्रो घर भित्रको फोहोर पनि सफा गर्नुपर्नेछ। हाम्रो घरभित्र फोहोर छ। त्यसलाई कार्पेटभित्र राखेर हुदैँन। सफा गर्नैपर्छ। हाम्रो मति ठिक बनाउनु पर्छ र लय समाउनैपर्छ।’

महामन्त्री थापाले सिंगो समाज परिवर्तनको लागि तयार भएको बताए। परिवर्तनका लागि रुपान्तरणको अजेण्डाहरु आवश्यक भएको थापाको भनाइ छ। 

‘हाम्रो परिवर्तनको चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरुले त्यसको दुरुपयोग गर्नेभयो। तर चेतनाको राजनीति गर्ने मान्छेले त्यसलाई समात्नु पर्छ। त्यसलाई शक्ति बनाउनु पर्नेछ,’ थापाले भने, ‘सिंगो समाज परिवर्तनको लागि तयार छ। तर त्यसको लय समाएर, परिवर्तन गर्नको लागि हामीलाई रुपान्तरणको अजेण्डाहरु चाहिएको छ।’ 

कांग्रेस नेता एवम् सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर सकिने बताए। सत्तारुढ गठबन्धन स्थायी नहुने उनको दाबी थियो। कार्यक्रममा कांग्रेस नेता बलबहादुर केसी, शिक्षाविद केदारभक्त माथेमालगायतले नेता जोशीको योगदानका बारेमा चर्चा गरेका थिए।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १७:१८
Weather Update