
काठमाडौं— चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलन गर्दै आएका डा. गोविन्द केसीले दुर्गा प्रसाईंले सञ्चालन गर्दै आएको झापाको वीएण्डसी अस्पताललाई सम्बन्धन दिन सर्वोच्च अदालतको फैसलाप्रति आपत्ति प्रकट गरेका छन्।
डा. केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै चैत्र १२ गते सर्वोच्च अदालतले एक उच्छृङ्खल र अराजक मेडिकल व्यापारीको मुद्दा उपर गरेको फैसला र त्यसले सृजित हल्लाले ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
‘देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्नु हामी सबैको कर्तव्य हुन्छ तर कसैको निहित स्वार्थमा कानुन प्रतिकुल फैसला आएको अवस्थामा त्यसले न्यायिक अराजकता सिर्जना गर्नसक्छ र न्यायालयले आफैं त्यस्तो गल्ती सुधार्नुको विकल्प रहँदैन,’ विज्ञप्तिमा भनिएको छ।
त्यस्तै उनले ऐनप्रतिकुल फैसला आएको अवस्थामा सम्बन्धित निकाय तत्काल न्यायिक पुनरावलोकन (भ्याकेट) मा जानुको विकल्प नरहेको उल्लेख गरेका छन्।
डा. केसीले अगाडि भनेका छन्, ‘अदालतको फैसलाले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गरेको आयोगलाई निस्तेज तुल्यायो भने मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई वल पुग्नेछ र आम नागरिकको स्वास्थ्यमा थप खेलबाड हुनेछ । यही सन्दिग्ध अर्थ लाग्ने फैसलामा टेकेर कसैले पनि ऐन उल्लङ्घन गर्ने काम गरेमा त्यो हामीलाई स्वीकार्य हुने छैन।’













