News Griha :: न्यूजगृह
राष्ट्रिय सभालाई सरकारले संघीय संसद्को रुपमा स्विकार्न सकेन : जितेन्द्र देव

काठमाडौं— राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभालाई सरकारले संघीय संसद्को रुपमा स्विकार्न नसकेको आरोप लगाएका छन् । 

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले त्यस्तो आरोप लगाए । प्रतिनिधि सभा र राष्ट्रिय सभाको महत्त्व बराबर भए पनि सरकारले त्यसलाई स्विकार्न नसकेको उनको भनाइ थियो । 

सरकारले संघीय संसद् भनेको राष्ट्रिय सभा पनि हो र राष्ट्रिय सभा पनि संघीय संसद्को एउटा पार्ट हो, राष्ट्रिय सभा बिना संघीय संसद् पूर्ण हुन सक्दैन भन्ने कुरा मान्न नसकेको उनले बताए । 

उनले प्रतिनिधि सभा भन्दा कुनै पनि हिसाबले राष्ट्रिय सभाको अधिकार, गरिमा, संविधानले दिएको मान्यता कमजोर नरहेको जिकिर गरे । सरकारले राष्ट्रिय सभाका ४ वटा समितिहरूले दिने निर्देशन र सुझाव सरकारले गम्भीरताका साथ नलिएको समेत बताए । 

उनले भने, 'आजको सन्दर्भमा केही कुरा बाहेक समानान्तर रुपमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको महत्त्वलाई, गरिमा र अधिकारलाई स्थापित गरेका छौँ । तर दुःखको कुरा मिडियाको कुरा त छोड्दिऔँ, बुद्धिजीवीहरूको कुरा त छोड्दिऔँ, आम मानिसको कुरा त छोडौँ, सरकारले पनि संघीय संसद् भनेको राष्ट्रिय सभा हुँदो रहेछ, राष्ट्रिय सभा पनि संघीय संसद्को एउटा पार्ट हो  । राष्ट्रिय सभा बिना संघीय संसद् होइन, भन्ने कुरा अहिलेसम्म अहिलेको सरकार मात्रै होइन, सरकारहरूले त्यो कुरालाई बुझ्नै खोजिरहेका छैनन् ।'

उनले राष्ट्रियसभाका ४ वटा समितिहरूले दिएको सुझावलाई सरकारले गम्भीरतासाथ नलिएको समेत बताए । 'प्रतिनिधि सभा भन्दा कुनै पनि हिसाबले राष्ट्रिय सभाको अधिकार, गरिमा, संविधानले दिएको मान्यता कमजोर छ भन्ने कुराबाट बुझ्ने काम भइरहेको छ', उनले भने, 'त्यस कारण राष्ट्रिय सभाका ४ वटै समितिहरूले अत्यन्त मेहनत गरेर सरकारलाई सुझाव दिने गर्दछ । त्यसलाई सरकारले गम्भीरताका साथ लिने गरेको छैन ।'

सांसद देवले आगामी दिनमा सरकारले संसदीय समितिहरूले दिने निर्देशन र सुझावलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १६:४३
Weather Update