News Griha :: न्यूजगृह
तथ्यांकमा बैंकिङ तरलतामा सहज देखिए पनि व्यवसायीले कर्जा पाएनन् : अध्यक्ष अग्रवाल

काठमाडौं— नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा सङ्कुचन आएको बताएका छन् ।

सातौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन  सोमवार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले त्यस्तो बताएका हुन् । उनले उद्योग परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदन अनुसार मुलुकभर उत्पादित वस्तुको मागमा ४० देखि ८० प्रतिशत सङ्कुचन आएको बताए । 

पछिल्लो समय उद्योगी, व्यवसायीहरू कठिन अवस्थाबाट गुज्रिएको बताउँदै उनले व्यवसायीहरूलाई बैंकको उच्च ब्याजदरको कारण समस्यामा रहेको बताए । अध्यक्ष अग्रवालले पछिल्लो समय कागजी रुपमा बैंकहरूमा तरलताको अभाव नदेखिए पनि उद्योगी व्यवसायीहरूले सहज रुपमा कर्जा पाउन नसकेको दाबी गरे ।

उनले व्यवसायीहरूले बजारबाट उधारो उठाउन नसक्दा बैंकको किस्ता तिर्न समेत नसकिरहेको उल्लेख गरे । 'अहिले उद्योगी, व्यवसायीहरू कठिन परिस्थितिबाट गुज्रिरहेका छन् । व्यवसायीहरूले बैंकको उच्च ब्याजदरको सामना गर्नु परेको छ', उनले भने, 'बैंकहरूमा तरलताको अवस्था सुधार भए पनि कागजमा सीमित हुँदा उद्योगी व्यवसायीहरूले अझै ऋण पाउन समस्या छ । व्यवसायीहरूले बजारबाट उधारो उठाउन नसक्ने कमजोर अवस्था देखा परेको छ । व्यवसायीहरूले बैंकको किस्ता तिर्न सकिरहेका छैनन् ।'

परिसंघको सर्भेमा बजारको मागमा सङ्कुचन आएको भन्दै उनले मागमा ४० देखि ८० प्रतिशतको कमी आएको बताए । उनले भने, 'परिसंघले सरकार र नागरिकहरूलाई वर्तमान आर्थिक समस्याको समाधान गरी सकारात्मक बनाउन पहल गरिरहेको छ । सरकारले उद्योगी व्यवसायीहरूको मनोबल उच्च बनाउन केही कदमहरू चाल्न आवश्यक छ । सरकारले समयमा नै पुँजीगत खर्च गर्नुपर्छ । यतिबेला सरकारले उद्योगी व्यवसायीको मनोबल उच्च बनाउने काम गर्न खाँचो छ ।'

अध्यक्ष अग्रवालले वर्तमान आर्थिक समस्याको समाधान गरी सरकारले सकारात्मक सन्देश दिन सक्नुपर्ने बताए । उनले सरकारले उद्योगी व्यवसायीहरूको मनोबल उच्च बनाउन केही कदमहरू चाल्न आवश्यक रहेको भन्दै सरकारले समयमा नै पुँजीगत खर्च गर्न नसक्दा पनि धेरै समस्या देखिएको समेत बताए । 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १६:२८
Weather Update