News Griha :: न्यूजगृह
आज पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं— नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ।

जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति भने  कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०६:१८
Weather Update