
काठमाडौं— प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बागमती प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर नयाँ गठबन्धन बनाइएको स्पष्ट पारे।
उनले हालको सत्तागठबन्धनलाई लामो समयसम्म लैजाने सोच र लक्ष्यका साथ पार्टीले निर्णय गरेकाले त्यसलाई अक्षरशः लागू गरिने स्पष्ट पनि पारे।
गठबन्धन परिवर्तन गर्ने निर्णय एकाएक नभएको बताउँदै उनले वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखिएको बताए।
पछिल्लो एक वर्षको अनुभवका आधारमा नयाँ निर्णय लिनु नै सुरक्षित उपाय भएको प्रधानमन्त्रीको भनाइ उदृत गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डीपी ढकालले जानकारी दिए।
प्रदेश सरकारको विषयमा केही समयभित्रै आवश्यक निर्णय लिइने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
सङ्घीय सरकारमा परिवर्तन भएलगत्तै प्रदेश सरकारको बारेमा पनि निर्णय लिनुपर्ने अवस्था आएको भन्दै उनले गठबन्धनमा आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिइने प्रधानमन्त्रीको भनाई थियो।