
काठमाडौं— धनुषामा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते छन्।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरका अन्दाजी २२ वर्षीय जिते महतो रहेको प्रहरीले जनाएको छ। सोही ठाउँका २५ वर्षीय सरोजकुमार महतो गम्भीर घाइते छन्।
प्रहरीका अनुसार सोमबार साँझ साढे ६ बजे जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा जनकपुरबाट ढल्केबर जाँदै गरेको प्रदेश २–०२–००१ च ०५१२०७१२ नम्बरको एम्बुलेन्सले बाटो काट्दै गरेको ज ११ प १९९ मोटरसाइकललाई ठक्कर दिएको थियो।
एम्बुलेन्स र मोटरसाइकल तीव्र गतिमा रहेकै कारण दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ। त्यस क्रममा मोटरसाइकलमा सवार दुवैजना गम्भीर घाइते भएका थिए।जितेको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा साँझ साढे ७ बजे चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए।
उनका अनुसार गम्भीर घाइते सरोजको प्रादेशिक अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि बाहिर रेफर गरिएको छ।
एम्बुलेन्स चालक फरार रहेको र खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।













