
काठमाडौं— आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबासँग काठमाडौं जिल्ला अदालतले ३५ हजार रुपैयाँ धरौटी माग गरेको छ। कुटपिट तथा अङ्गभङ्ग र विद्युतीय कारोबारको फरक–फरक मुद्दामा जिल्ला अदालतले वाइबालाई धरौटी लिएर रिहा गर्ने आदेश जारी गरेको हो।
जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको सोमबारको इजलासले बाइबाका दुवै मुद्दामाथि थुनछेक बहस सकेर धरौटीमा रिहा गर्ने आदेश दिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले न्यूजगृहलाई जानकारी दिए।
न्यायाधीश पोखरेलको इजलासले वाइबासँग विद्युतीय कारोबारको मुद्दामा २५ हजार रुपैयाँ धरौटी माग गरेको हो। यस्तै, कुटपिट तथा अङ्गभङ्गको मुद्दामा १० हजार रुपैयाँ धरौटी माग भएको श्रेस्तेदार शर्माले जानकारी दिए।
कलाकार पवन खतिवडा ‘म्याकुरी’ले दिएको जाहेरीका आधारमा प्रहरीले गत फागुन १६ गते सिन्धुपाल्चोकबाट शर्मिलालाई पक्राउ गरेको थियो। शर्मिलाले आफू बसेको घरमा पुगेर आफूमाथि कुटपिट गरेको भन्दै खतिवडाले प्रहरीमा जाहेरी दिएका थिए।
खतिवडाको जाहेरीअनुसार पक्राउ परेकी वाइबाविरुद्ध प्रहरीले २ वटा मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो। प्रहरी वृत्त महाराजगञ्जले कुटपिट तथा अङ्गभङ्ग र प्रहरीको साइबर ब्यूरोले विद्युतीय कारोबारको मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो।
दुवै मुद्दामा अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले वाइबाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गङ्गा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेको घटना सार्वजनिक भएको थियो।













