News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
उपनिर्वाचनबारे ‘बेखबर’ माओवादी, आफ्नै उम्मेदवार उठाउने कि अरु दलकै पछि लाग्ने ?

काठमाडौं— आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि दलहरु आन्तरिक तयारीमा जुटेका छन्। इलाम क्षेत्र नम्बर २ तथा बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तोक्नेदेखि सिफारिस गर्नेसम्मका गतिविधहरुमा दलहरु केन्द्रित भएका छन्। 

सत्तारुढ गठबन्धनको दल नेकपा एमालेले २ वटै क्षेत्रका लागि उम्मेदवार टुंगो लगाइसकेको छ। इलाम २ मा प्रतिनिधि सभा सदस्य चयन गर्न हुने निर्वाचनका लागि एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै, प्रदेश सभा सदस्य चयनका लागि उपनिर्वाचन हुने बझाङ १(१) का लागि एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। 

संघीय संसद्‌को तेस्रो ठूलो तथा संघीय सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र भने उपनिर्वाचनप्रति बेखबर जस्तै देखिएको छ। उपनिर्वाचनका लागि माओवादी केन्द्रमा कुनै सक्रियता देखिएको छैन। कांग्रेससहित अरु दलहरुमा उम्मेदवार बन्नका लागि नेताहरुको दौडधुप चलिरहँदा माओवादीका नेताहरु भने चुनावमा आफ्नो पार्टीका उम्मेदवार हुन्छन् कि हुँदैनन् भन्ने द्विविधामा छन्। उपनिर्वाचनका लागि पार्टीले उम्मेदवार उठाउँछ कि उठाउँदैन भन्ने पक्का नभइसकेका कारण माओवादीमा टिकटका लागि दौडधूप पनि देखिँदैन। 

Prabhu Bank

१ वर्ष अगाडि, गत वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर ३ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदा माओवादी केन्द्र उम्मेदवारविहीन थियो। तत्कालीन अवस्थामा नेपाली कांग्रेससहित ५ दलीय गठबन्धनमा रहेको माओवादीले चितवन ३ र तनहुँ १ मा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको थियो। यस्तै, बारा २ मा जनता समाजवादी पार्टीका उम्मेदवारलाई समर्थन गरेको थियो। 

यसपटक प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेर नेकपा एमालेसँग सत्ता सहकार्य गरिरहेका छन्। हाल सत्तारुढ गठबन्धनको नेतृत्वकर्ता रहेको नेकपा एमालेले उम्मेदवारहरु टुंगो लगाइसक्दा माओवादीमा उम्मेदवारीको विषय नै अनिश्चित छ। 

निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारहरुको मनोनयन दर्ता हुनेछ। मनोनयन दर्ताको मिति नजिकिँदै गर्दा पनि माओवादी केन्द्रका नेताहरु भने उम्मेदवारी हुन्छ कि हुँदैन भन्ने द्विविधामा छन्। 

माओवादी केन्द्रका महासचिव देव गुरुङ उम्मेदवारी दिने वा अरुसँग सहकार्य गर्ने भन्ने विषयमा केही दिनमा निर्णय हुने बताउँछन्। अहिले पार्टीभित्र आफ्नै उम्मेदवार उठाउनुपर्छ भन्ने विषयमा पनि छलफल भइरहेको र केही दिनमै त्यसबारे निर्णय हुने गुरुङ बताउँछन्। 

‘उपनिर्वाचनको विषयलाई लिएर हाम्रो पार्टीमा पनि गतिविधिहरु भइरहेका छन्। चुनावमा भाग लिने पार्टी भएका कारण  उम्मेदवारको विषयलाई लिएर पनि छलफल चलिरहेका छन्। तर गठबन्धनमा रहेकाले आ–आफ्नै उम्मेदवार उठाएर चुनाव लड्ने कि गठबन्धनमा सहकार्य गर्ने भन्नेबारे भने निर्णय हुन बाँकी छ। निर्णय भइसकेपछि सार्वजनिक भइहाल्छ,’ गुरुङले न्यूजगृहसँग भने। 

कमजोर जनाधार, निस्क्रिय संगठन 
प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको इलाम २ मा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच हुने देखिएको छ। अघिल्लो (२०७९) सालको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई झिनो मतको अन्तरले हराएर एमालेका सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचनका लागि एमालेले नेम्वाङकै छोरा सुहाङलाई उम्मेदवार बनाएको छ। जनाधारका हिसाबले पनि इलाम–२ का लागि कांग्रेस र एमाले नै बलियो पार्टी हुन्। 

इलाम २ मा माओवादीको जनधार बलियो छैन। २०७९ सालको निर्वाचनमा इलाम २ बाट समानुपातिकतर्फ माओवादीले ५ हजार १५३ मत मात्रै पाएको थियो। जबकि नेकपा एमालेले २६ हजार ५६२ र नेपाली कांग्रेसले २२ हजार ३३३ मत पाएका थिए। 

निर्वाचित जनप्रतिनिधिका हिसाबले पनि इलाम २ मा माओवादीको स्थिति दयनीय नै छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा माङसेबुङ गाउँपालिकाको वडा नम्बर ३ को वडाध्यक्षमा मात्रै माओवादीका उम्मेदवार लक्षुमन राई विजयी भएका थिए। 

इलाम २ मा माओवादी केन्द्रको संगठनात्मक सक्रियता र उपस्थिति पनि राम्रो छैन। पालिका तथा वडास्तरमा माओवादीका समितिहरु गठन गरिए पनि ती समितिको सक्रियता देखिँदैन। 

इलाम २ को तुलनामा बझाङ १ को प्रदेश सभा (२) मा भने माओवादीको अवस्था केही बलियो छ। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा एउटा मात्रै क्षेत्र रहेको बझाङबाट समानुपातिकतर्फ माओवादी केन्द्रले ८ हजार २९५ मत पाएको थियो। नेकपा एमालेले २२ हजार ६७४ र नेपाली कांग्रेसले १९ हजार ४३७ मत पाएको थियो। 

निर्वाचित जनप्रतिनिधिका हिसाबले पनि इलाम २ भन्दा बझाङ १ (१) मा माओवादीको उपस्थिति केही बलियो छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा माओवादीले बझाङ १ (१) मा एउटा गाउँपालिकाको अध्यक्ष, एउटा नगरपालिकाको उपप्रमुख तथा २ वटा गाउँपालिकामा उपाध्यक्ष जितेको थियो। यस्तै, विभिन्न पालिकामा गरी ६ जना वडाध्यक्ष माओवादीबाट निर्वाचित भएका थिए। 

केन्द्रको निर्णयको पर्खाइमा जिल्लाका नेता
सत्तारुढ गठबन्धनमा रहेकामध्ये नेकपा एमालेले उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याइसकेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक गतिविध तीव्र बनाएको छ। उपनिर्वाचनका लागि रास्वपाले इलाम २ मा ‘घरदैलो’ अभियान नै चलाएको छ। रास्वपाका नेताहरु अहिले इलाम २ का विभिन्न ठाउँमा पुगेर पार्टीको पक्षमा माहोल बनाउन व्यस्त छन्। 

गठबन्धनको प्रमुख घटक माओवादीका जिल्लास्तरीय नेता भने असामञ्जस्यको स्थितिमा छन्। माओवादीको जिल्लास्तरीय समितिमा निर्वाचनका लागि न त कुनै निर्णायक छलफल नै चलेको न त मतदातामाझ जाने अभियान नै चलेको छ। 

माओवादी केन्द्रका इलाम जिल्ला संयोजक धीरेन्द्र शर्मा ‘रमण’ केन्द्रबाट कुनै निर्देशन र निर्णय नआएका कारण उपनिर्वाचनका लागि ‘स्पष्ट’ कार्यदिशा बनाएर अगाडि बढ्न नसकिएको बताउँछन्। इलाम २ मा उम्मेदवार उठाउने कि नउठाउने भन्ने विषय नै अस्पष्ट रहेकाले निर्वाचनको तयारी पनि हुनुपर्ने गरी नभएको उनले स्वीकारे।

‘हामीले जिल्ला तहमा छलफल गर्दा उम्मेदवार उठाउने भनेर छलफल गरेका छौं। तर परिवेश फरक छ। केन्द्रमा गठबन्धन भएकाले यहाँ पनि त्यहीअनुसार सहकार्य हुने हो कि? केन्द्रबाट कुनै प्रकारको जानकारी, सूचना केही पनि आएको छैन,’ शर्माले न्यूजगृहसँग भने, ‘गठबन्धनकै उम्मेदवार हुने कि बेग्लाबेग्लै उम्मेदवार हुने, तय हुन बाँकी छ।’

उम्मेदवारी हुने कि नहुने भन्ने विषय नै स्पष्ट नभएका कारण इलाम २ का लागि माओवादीमा उम्मेदवारका आकांक्षी पनि खुलेर देखिएका छैनन्। अनौपचारिक कुराकानीका क्रममा केही नेताहरुले आकांक्षा राखे पनि उम्मेदवार बन्ने भनेर कुनै पनि नेताले दाबेदारी प्रस्तुत गरिसकेका छैनन्। 

बझाङको अवस्था पनि इलामकै जस्तो छ। यद्यपि यहाँका नेताहरु भने उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउनुपर्छ भनेर लबिइङमा छन्। गत निर्वाचनको परिणामअनुसार पनि जनाधार धेरै कमजोर नभएकाले चुनावमा उम्मेदवारी दिए जित्न सकिने माओवादीका जिल्ला तहका नेताहरुको बुझाइ छ। 

माओवादी बझाङ जिल्ला समितिका संयोजक मीन कुँवर ‘विश्वास’ले केन्द्रले निर्देशन नदिइसकेका कारण उम्मेदवारहरु सिफारिस गर्ने काम नभएको बताउँछन्। तर उपनिर्वाचन लक्षित अन्य गतिविधिमा भने सबै नेता/कार्यकर्ता सक्रियातापूर्वक लागिरहेको उनको दाबी छ। 

बझाङ १(१) मा प्रदेश सभा सदस्यका लागि समाजवादी मोर्चाबाट साझा उम्मेदवारी हुने सम्भावना रहेको कुँवरको भनाइ छ। ‘उम्मेदवार सिफारिस गर्नोस् भनेर केन्द्रबाट निर्देशन आयो भने हामीले उम्मेदवारका लागि नाम सिफारिस गर्छौं। अहिलेसम्म त्यस्तो निर्देशन आएको छैन। उपनिर्वाचनको तयारीका लागि भने हामी जिल्लाको सबै पार्टीपंति सक्रियतापूर्वक लागिरहेका छौं,’ कुँवरले भने, ‘यहाँ समाजवादी मोर्चाबाट साझा उम्मेवार उठाउने विषयमा पनि छलफल भइरहेको छ। त्यसको पनि सम्भावना छ।’

माओवादीबाट बझाङ १ (१) का लागि उम्मेदवार बन्न मुख्यतया ३ जना दाबेदार छन्। सुदूरपश्चिम प्रदेश समितिका सचिव समेत रहेका जनक बुढा, बझाङ जिल्ला संयोजक कुँवर र नेता देवराज रेग्मी ‘निरन्तर’ उम्मेदवारका आकांक्षी छन्। 

२०७९ सालको प्रदेश सभा निर्वाचनमा बझाङ १ (१) बाट नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंह विजयी भएका थिए। तत्कालीन अवस्थामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितको गठबन्धनका साझा उम्मेदवार रहेका सिंहले १७ हजार ११२ मत ल्याएका थिए। उनका प्रतिस्पर्धी नेकपा एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए। कांग्रेसबाट निर्वाचित भएका सिंहको सवारी दुर्घटनामा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १९:०३
Weather Update