
चितवन— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवनलाई फेरि कुनै व्यक्तिको परीक्षण हुने ठाउँ नबनाउन मतदातालाई आग्रह गरेका छन् ।
सोमबार चितवनको कालिका नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले लोकरिझ्याइको कुरा गर्नेबाट प्रभावित भएर चितवनलाई राजनीतिक परीक्षणको ठाउँ नबनाउन आग्रह गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ बाट उम्मेदवार रहेका रवि लामिछानेलाई लक्षित गर्दै उनले पाँच महिनामा जनताले चिनिसकेको र प्रत्येक दिन नयाँ-नयाँ कुरा आउने टिप्पणी समेत गरे ।
चितवन २ का कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठको चुनावी सभालाई सम्बोधन गर्न चितवन पुगेका उनले विगतको कुरा बिर्सेर उप-निर्वाचनमा कांग्रेसलाई भोट दिन आग्रह गरे । उनले भने, 'चितवनलाई कुनै व्यक्तिको परीक्षण हुने ठाउँ हुन नदिनुस् । तपाईंको सुझबुझले नेपालको राजनीतिलाई मार्ग निर्देश गर्नेछ ।'
संघ र प्रदेशमा कांग्रेस–माओवादीको सरकार रहेको र यही गठबन्धन पाँच वर्ष चल्ने भन्दै उनले चितवनमा बजेटको कमी हुन नदिने समेत बताए । महामन्त्री थापाले भने, '५ वर्ष यही सरकार रहन्छ । केन्द्र सरकार हाम्रै छ । बागमतीको सरकारमा कांग्रेस छ र चितवनकी मेयर हाम्रो हुनुहुन्छ । प्रधानमन्त्रीसँग टेबल ठोक्न सक्नेलाई तपाईंले संसद्मा किन नपठाउने ?'
बाहिर कांग्रेस हुँ भन्दै हिँड्ने र भित्र दायाँबायाँ गर्ने छुट कांग्रेसका कार्यकर्तालाई नभएको समेत उनले बताए । 'कांग्रेसको एक जना साथीले पनि दायाँबायाँ तलमाथि नगर्नुस् । खुलेर कतै लाग्नु भएको छ भने तपाईंको निर्णय भयो', महामन्त्री थापाले भने, 'बाहिर रुख रुख भन्ने, भित्र तलमाथि गरेमा कसैले नदेखे पनि मनभित्रको हरिले देख्नेछ ।'
उक्त कार्यक्रममा भरतपुर महानगर पालिकाकी मेयर एवं माओवादी नेता रेनु दाहालले मूलधारका दलले नै चितवनको विकास गर्ने बताइन् । उनले आवेगमा आएर भोट खेर नफाल्न आग्रह समेत गरिन् ।
१० वैशाखमा हुने उप-निर्वाचनमा आफ्ना उम्मेदवारको प्रचार गर्न कांग्रेस उप-सभापति धनराज गुरुङ र महामन्त्री गगन थापा चितवन पुगेका हुन् ।













