News Griha :: न्यूजगृह
निजामती सेवा ऐन छिट्टै संसद्मा पेश हुन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकार संघीय निजामती सेवा ऐन छिट्टै संसद्मा पेश गर्ने तयारीमा रहेको बताएकी छन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा भएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन-२०७९ माथिको छलफलका क्रममा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा त्यस्तो बताएकी हुन् । 

सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले सरकारले सो ऐनलाई अत्यन्तै प्राथमिकतामा राखेर अघि बढाएको र अहिले त्यो कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणको रहेको जानकारी दिइन् । उनले कर्मचारीहरूको सरुवालाई व्यवस्थित बनाउने गरी सो ऐनमा आवश्यक व्यवस्था मिलाउन पनि सांसदहरूलाई आग्रह गरिन् । 

उनले कर्मचारीको सरुवाको विषय व्यवस्थित नभएको स्वीकार गर्दै अब बन्ने संघीय निजामती सेवा ऐनले त्यसलाई व्यवस्थित बनाउने विश्वास समेत व्यक्त गरिन् । 'संघीय निजामती सेवा ऐन सरकारवालाहरूसँग छलफल भएर अहिले कानुन मन्त्रालयमा छलफलका लागि पुगेको छ । यो ऐनको बारेमा जुन माननीय ज्युहरूले कुरा उठाउनु भएको छ । त्यो चाहिँ सरकारको पनि अत्यन्तै ठुलो प्राथमिकताको विषय हो । र सरकारले अत्यन्तै प्राथमिकतामा राखेर अन्तिम चरणमा पुर्‍याएको छ', मन्त्री शर्माले भने, 'माननीय ज्यूहरूको बीचमा भन्दा अहिले यो कानुन मन्त्रालयमा पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट त्यहाँ पुगेको हो र, कानुन मन्त्रालयमा यो अन्तिम चरणमा छ । यसलाई क्याबिनेटमा ल्याएर हामी छिटो भन्दा छिटो यो ऐनलाई संसद्मा प्रस्तुत गर्ने तयारीमा छौं हामी ।' 

विगतदेखि कर्मचारीहरूको सरुवा ठिक ढंगले हुन नसकेको भन्दै उनले यी विषय संघीय निजामती सेवा ऐनमा आउनुपर्ने विषय भएकोले ऐन पास गर्दा कर्मचारीको सरुवालाई व्यवस्थित गर्नुपर्ने बताइन् । 'कर्मचारीको छिटो छिटो सरुवा भन्ने कुरा पनि यहाँ उठेको छ । यी विषय संघीय निजामती सेवा ऐनमा आउनुपर्ने विषय हो', उनले भने, 'हामीले सो ऐन पास गर्दै गर्दा कर्मचारीको सरुवालाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । यो ऐन बनाउन सो विषयलाई यो सम्मानित सदनले विशेष ध्यान दिनेछ भन्ने कुरा पनि राख्न चाहन्छु ।'

मन्त्री शर्माले कर्मचारीहरूको समय तोकेर सरुवाको मापदण्ड बनाउन सके उनीहरू छिटो-छिटो सरुवा हुने समस्या समाधान हुने तर्क समेत गरिन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १५:१२
Weather Update