काठमाडौं— रङको पर्व होली आज तराईमा जिल्लामा मनाइँदैछ। एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ।
होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास गरिन्छ।
कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली) तराईका जिल्लामा आज धुमधामसँग मनाइँदै छ। रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ।
फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ। होलीका अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छट।
हिमाली र पहाडी जिल्लामा भने हिजै होली मनाइएको छ।













