News Griha :: न्यूजगृह
काठमाडौंमा छिटफूट वर्षा, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पनि पानी पर्ने

काठमाडौं— अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ।

जसका कारण मौसममा बदली भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यतिबेला काठमाडौं उपत्यकाका केही स्थानमा पानी परिरहेको छ। बिहानैदेखि परेको पानी केही ठाउँमा रहेको छ भने केही ठाउँमा छिटफूट परिरहेको छ। 

आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, मधेस, बागमती  र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०६:२२
Weather Update