News Griha :: न्यूजगृह
होलीमा जथाभावी रङ्ग दल्ने २७७ जना काठमाडौंबाट पक्राउ

काठमाडौं— प्रहरीले  होली पर्व मनाउने क्रममा आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए।

उनले भने, 'आज कानुन विपरीत काम गर्ने दुई सय ७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ, पक्राउ परेकाहरूको अवस्था हेरेर केहीलाई आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ।'

यसैगरी, ट्राफिक प्रहरीले गरेको चेकिङको क्रममा ७ सय ८४ वटा सवारी साधनलाई होल्ड गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। 

लागूपदार्थ सेवन (लापसे), मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने तथा सवारी साधनका कागजपत्र नबोक्ने, हेलमेट नलगाई सवारी चलाउनेका सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

फागु पूर्णिमा अर्थात् होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो।

ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट निगरानी गरिएको थियो।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  २१:३८
Weather Update