
काठमाडौं— होली पर्वका दिन आइतबार देशभरबाट एक सय २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
जबरजस्ती रङ्ग दल्ने, मादक पदार्थ सेवन गरी झैझगडा गर्ने र सार्वजनिक स्थलमा होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालले जानकारी दिए।
‘यसपटकको फागु पूर्णिमा विगत वर्ष हेर्दा तुलनात्मक रुपमा शान्तिपूर्ण भयो। ठूला अपराधका घटनाहरु भएका छैनन्,’ उनले भने।
मापसे गरी सवारी सधान चलाउने, ट्राफिक नियम उल्लंघन गर्ने ७ सय ७५ सवारी साधनलाई होल्ड गरिएको पनि प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयकाअनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै साढे ६ सय मोटरसाइकल/स्कुटर होल्ड गरिएको छ। १५ वटा सवारी साधन पनि होल्डमा परेका छन्।
कार्यालयका एसपी अवधेश बिष्टले लापरवाही गर्ने र मापसे गरि सवारी साधन चलाउनेलाई होल्ड गरिएको बताए।
त्यस्तै काठमाडौंबाट ७०, भक्तपुरबाट ४ र ललितपुरबाट २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिष्टले पनि विगतका वर्षभन्दा शान्तिपूर्ण ढंगले फागु पूर्णिमा पर्व सकिएको जनाए।













