News Griha :: न्यूजगृह
अलपत्र राष्ट्रिय आयोजना छिटो सम्पन्न गर्न सांसदहरुको माग

काठमाडौं— अलपत्र परेका राष्ट्रिय गौरवका आयोजनाहरु नीतिगत निर्णय गरेर भएपनि समयमै सम्पन्न गर्न राष्ट्रिय सभाका सांसदहरुले सरकारसँग माग गरेका छन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा पेश गरिएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको तीन आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफल भएको थियो । उक्त छलफलमा राष्ट्रिय सभाका सांसदहरु अनिता देवकोटा, रामचन्द्र राई, सोनाम ग्याल्जेन शेर्पालगायतले राष्ट्रिय गौरवका आयोजनाहरु छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय लिन सरकारलाई दवाब दिएका थिए।

बैठकमा सांसद देवकोटाले बोल्दै राष्ट्रिय गौरवका आयोजनाहरुलाई काम गर्न कुनै पनि समस्या नआउने गरी सरकारलाई नीतिगत व्यवस्था गर्न आग्रह गरेकी थिइन्। भनिन्, ‘वनले वा कुनै पनि निकायले नरोक्ने गरी राष्ट्रिय गौरवका आयोजनाहरु छिटो र छरितो रुपमा अघि बढाइनुपर्छ । यसका लागि सरकारले अन्तर मन्त्रालय समन्वयको काम पनि गर्नुपर्छ ।’

यस्तै, सांसद रामचन्द्र राईले काठमाडौं–तराई दु्रतमार्ग अन्तर्गतको खोकना र बुङमतीको जग्गा विवाद सुल्झाउन २०७६ सालमै सरकारको ध्यानाकर्षण गराएपनि अहिलेसम्म समाधान नभएको भन्दै गुनासो पोखे । उनले भने, ‘राष्ट्रिय गौरवका आयोजनाहरु बने । यसको सुरु वर्ष र अन्तिम वर्ष पनि उल्लेख गरियो । तर त्यसलाई पूरा गर्नेगरी कहिल्यै काम गरिएन ।’ उनले ७/८ वर्ष देखि गेम चेन्जरको रुपमा बुढीगण्डकी जलविद्युत आयोजना अघि सारेपनि आजसम्म कसरी गर्ने भनेर त्यसको मोडालिटी समेत बन्न नसकेको भन्दै खेद प्रकट गरे।

सांसद सोनाम ग्याल्जेन शेर्पाले सरकार संसद र संसदीय समितिप्रति जवाफदेही नभएको गुनासो पोखे। उनले समितिहरुले दिएको निर्देशन कार्यान्वयन गर्न भन्दा पनि सरकार र सरकारका मन्त्रीहरु झारो टार्ने खालको काममा मात्रै लाग्ने गरेको भन्दै आपत्ति समेत जनाएका छन् । ‘समितिहरुले ल्याएको प्रतिवेदनप्रति सरकार जुन रुपले गम्भिर हुनुपर्ने हो । त्यो खालको गम्भिरता देखिएन,’ उनले भने, ‘निजगढ एअरपोर्टको विषयमा पनि हामीले वर्षौ कुरा ग¥यौँ । तर यसमा अझै सरकारको स्पष्ट धारणा आउन सकेको छैन । भैरहवा अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलको दिगोपनाबारे पनि सरकारले तत्काल सोच बनाउनुपर्ने हुन्छ ।’

 


 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १४:५६
Weather Update