News Griha :: न्यूजगृह
रवि लामिछानेको सहकारी प्रकरणबारे एमाले– प्रमाणसहित उजुरी दर्ता भए राजीनामा दिनुपर्छ
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने

काठमाडौं— सहकारी ठगी प्रकरणलाई लिएर सदनमा प्रमुख प्रतिपक्षी दलको विरोध खेपीरहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे सत्तारुढ दल नेकपा एमालेले ‘धारणा सार्वजनिक’ गरेको छ। आफूविरुद्ध प्रमाणसहित उजुरी दर्ता भएको खण्डामा लामिछानेले राजीनामा दिनुपर्ने एमालेको भनाइ छ।

आइतबार बसेको सचिवालय बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्छ।’ 

अहिलेको अवस्थामा भने गृहमन्त्री लामिछानेविरुद्ध त्यस्तो (प्रमाणसहितको) उजुरी दर्ता भएको स्थिति नभएको ज्ञवालीको भनाइ छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिले राजनीतिक पूर्वागृहका आधारमा लामिछानेको राजीनामा मागिरहेको ज्ञवालीले टिप्पणी गरे। 

सहकारीमा जम्मा गरेको रकम ठगी भएर धेरै सर्वसाधारण पीडित भएकाले यसको छानबिन हुने ज्ञवालीको भनाइ छ। भर्खरै भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पीडितहरुसँग सम्झौता पनि गरेको ज्ञवालीले उल्लेख गरे। 

‘मन्त्रालय र सरकारले आफ्नो ढंगले गर्दैछ। यसक्रममा जोकोही दोषी देखियो भने एमालेले ढाकछोप गर्दैन,’ ज्ञवालीले भने। 

अहिले कांग्रेसले लामिछानेको विरोध गरेर द्वेध चरित्र देखाएको ज्ञवालीको टिप्पणी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदल्ने निर्णय गरेपछि कांग्रेसले रास्वपाका सभापति लामिछानेलाई प्रधानमन्त्री अफर गरेको दाबी ज्ञवालीले उल्लेख गरे। ‘प्रधानमन्त्रीका लागि आफूले प्रस्तावित गरेको मान्छे गृहमन्त्रीका निम्ति अयोग्य हुन्छ भन्ने तर्क राजनीतिक प्रतिशोध बाहेक अरु हुन सक्दैन,’ ज्ञवालीले भने। 

संघीय संसद्को सबैभन्दा ठूलो तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामिछानेको राजीनामा माग गर्दै संसद्‌मा विरोध गर्दै आएको छ। लामिछानेलाई संसद्‌मा बहिस्कार गरेको कांग्रेसले उनीमाथि छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग समेत अगाडि सारेको छ। 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १६:०३
Weather Update