News Griha :: न्यूजगृह
तत्कालीन सीआईबी प्रमुख किरण बज्राचार्यसहित ४ जनालाई कारबाही गर्न अर्को समिति

काठमाडौं— सुन तस्करी प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको आरोपमा कारबाही सिफारिस भएका प्रहरीलाई कारबाही गर्न गृह मन्त्रालयले अर्को समिति बनाएको छ। 

कारबाही सिफारिसमा परेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि थप छानबिन र कारबाहीका लागि अर्को समितिले बनाइएको गृह मन्त्रालयले जनाएको छ ।

गृहका सूचना अधिकारी एकदेव अधिकारीका अनुसार आइतबार गृहका कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन भएको हो। समितिमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकाल र मन्त्रालयको प्रहरी कर्मचारी प्रशासन उपशाखाका उपसचिव रामबहादुर शाही सदस्य छन्।

‘आयोगले सिफारिस गरेको विभागीय कारबाहीमा ती चार प्रहरी अधिकृतमध्ये क–कसलाई कुन किसिमको विभागीय कारबाही गर्ने भन्ने सिफारिस गर्न उक्त उपसमिति गठन भएको हो,’ गृहका सूचना अधिकारीले भने,’ आयोग कार्यान्वयन गर्ने सरकारको निर्णय पछि उक्त प्रशासनिक कार्यका लागि उपसमिति गठन भएको हो।’

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरले अनुसन्धानमा लापरबाही गरेको भन्दै कारबाही सिफारिस गरेको थियो ।

तत्कालीन सीआईबी प्रमुख बज्राचार्यसहित ४ जनालाई सुन तस्करीका दोषीलाई उन्मुक्ति दिएको लगायत आरोप लागेको छ । 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १४:२३
Weather Update