
काठमाडौं— अहिलेले काठमाडौंमा वायुको तापक्रम १७ डिग्री सेन्टिग्रेड मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार वायुको पारदर्शिता पाँच किलोमिटर रहेको छ।
आजको न्यूनतम तापक्रम १३ दशमलब ६ डिग्री सेन्टिग्रेड रहेको तथा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।
मौसमविद् अर्यालका अनुसार आज दिउँसोदेखि काठमाडौं उपत्यकासहित कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भइ पानी पर्ने सम्भावना छ।
अहिले केही ठाउँमा सामान्य बदली भए पनि धेरै ठाउँको मौसम सफा रहेकोमा दिउँसोदेखि बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् अर्यालले बताए।
उनका अनुसार हिजोअस्तीको तुलनामा आज मौसम केही सफा हुने भएपनि रातिदेखि पुनः बदली भएर वर्षाको सम्भावना छ।
अहिले नेपालमा पश्चिमी वायूको प्रभावसहित स्थानीय वायुको प्रभाव तथा भारतको उत्तर पूर्वआसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर आशिंकदेखि मुख्यतया वदली छ।
मौसमविद् अर्यालले भने, ‘नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल देशभर आँशिकदेखि साधारणतया बदली रहेको छ।’
यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भुभागका थोरै स्थानहरु र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।













